दाजु–भाउजू र दिदीहरुका कारण काङ्ग्रेस बिग्रियो : केन्द्रीय सदस्य मधु आचार्य
मेचीनगर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले दाजु–भाउजू र दिदीहरुका कारण काङ्ग्रेस बिग्रिएको टिप्पणी गरेका छन् ।
सहिद सप्ताहको अन्तिम दिन मंगलबार (आज) झापाका प्रथम सहिद विश्वनाथ घिमिरेको स्मृतिमा मेचीनगरको बाहुनडाँगीमा आयोजित कार्यक्रममा आचार्यले काङ्ग्रेसलाई हिजोको जसरी चलाउन नसकिने बताए । उनले दाजु–भाउजू र दिदीहरुका कारण काङ्ग्रेस बिग्रेको तथा जनताको बन्न नसकेको टिप्पणी गरे । ‘हिजो बाजेहरुले चलाए जसरी अब पार्टी चल्दैन,’ आचार्यले भने, ‘हिजो जसरी पार्टी कब्जा गरियो, सदस्यता बाँडियो, त्यो बन्द गरिनु पर्छ ।’
उनले नैतिक पतन भएका व्यक्ति काङ्ग्रेस बन्न नसक्ने बताएका छन् । काङ्ग्रेसलाई सामाजिक मूल्य, मान्यता र नैतिकतामा उभिएको पार्टी बनाउनु पर्नेमा आचार्यले जोड दिए ।
‘हत्या, हिंसा, बलात्कार, भ्रष्टाचारमा सम्लग्न व्यक्ति काङ्ग्रेसको नेता हुनैसक्दैन,’ उनले भने, ‘पार्टीमा गुट महारोग भएको छ,समयसँग चल्ने र नैतिकवान नेतृत्व निर्माण गर्न नसके काङ्ग्रेस थप कमजोर हुनबाट जोगाउन सकिन्न ।
आवश्यक परे सभापतिको कार्यकाल २ वर्षको बनाउनु पर्ने र सबै ठाउँमा खुल्ला मतदान गर्ने व्यवस्था गर्न सके काङ्ग्रेस रुपान्तरण हुने उनको निष्कर्ष छ । उनले काङ्ग्रेस सुधार्न एबिसीडीको फर्मुला अवलम्बन गर्नु परेमा जोड दिए । नयाँ संकल्प र अठोटले काङ्ग्रेस रुपान्तरित विश्वास व्यक्त गरे ।
कार्यक्रम सहिद विश्वनाथ प्रतिष्ठानले आयोजना गरेको हो । बिपी कोइराला, गणेशमान सिंहका विश्वासपात्र तथा बाहुनडाँगीका जनपक्षीय प्रधानपञ्च घिमिरेको २०१९ साल जेठमा तत्कालीन शाही सेनाले गोली हानेर हत्या गरेको थियोे ।
काङ्ग्रेसले चलाएको रणनीति आन्दोलनमा सरिक घिमिरेले शसस्त्र क्रान्तिमा जुटेका काङ्ग्रेस नेतालाई त्यसबेला हतियार समेत दिएका थिए । मेचीनगर नगरपालिकाले हाम्रो मेचीनगर भन्ने कक्षा–७ को पाठ्यपुस्तकमा विश्वनाथ घिमिरेको जीवनी समेटेको छ ।