कोशीमा मन्त्रीपरिषद् विस्तार रोकियो
विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद् विस्तारको तयारी फेरि रोकिएको छ । बिहीबार सम्पन्न राष्ट्रियसभा निर्वाचन लगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्रीको तयारी थियो तर, सत्ता गठबन्धनको मुख्य घटक माओवादी केन्द्रकी उम्मेदवार चम्पा कार्की राष्ट्रियसभा निर्वाचनमा पराजित भएपछि मन्त्रीपरिषद् विस्तार रोकिएको हो । उनको पराजयका लागि कांग्रेसका ३ जना सांसद र १३ जना स्थानीय तहका प्रतिनिधिले अन्तरघात गरेका थिए ।
‘हिजोमात्रै सम्पन्न निर्वाचनमा हाम्रो उम्मेदवारलाई हराएर कांग्रेसले अहिले सरकार विस्तार गर्नु र हामीले मन्त्री पठाउनु भनेको मलामी गएर भोज खानुजस्तै हो,’ माओवादीका एक नेताले भने, ‘अब केही दिनका लागि हाम्रो तर्फबाट मन्त्रिपरिषद् विस्तारका लागि मन्त्री सिफारिस गर्दैनौँ ।’
मुख्यमन्त्री केदार कार्कीले पनि अहिलेको माहोल नसेलाइ सरकार विस्तार नहुने बताए । ‘मेरो तर्फबाट पूरै तयारी गरेको हुँ । गठबन्धनकै केही साथीहरुले अहिले रोकौँ भनेपछि मैले नाइँ भनिनँ,’ उनले भने, ‘उहाँहरुले ल गरौँ भन्ने बित्तिकै मन्त्रिपरिषद् विस्तार हुन्छ ।’
मुख्यमन्त्री कार्कीले मन्त्रालयको भागबण्डा पनि टुङ्गिसकेको जानकारी दिए । तर, कसलाई कति भन्ने कुरा अहिले भन्न नसक्ने उनले बताए ।
स्रोतले दिएको जानकारी अनुसार मन्त्री नियुक्त हुन बाँकी पाँच मन्त्रालयमध्ये माओवादीलाई २, कांग्रेसलाई २ र जसपालाई १ मन्त्रालय दिन दलहरुबिच सहमति भएको छ । कांग्रेसले भने यो विषयमा केही भन्न चाहेको छैन । यद्यपि मुख्यमन्त्री कार्कीले यसअघिको कुराकानीमा आवश्यकताका आधारमा दलहरुबाट मन्त्रीहरुको प्रतिनिधित्व गराउने बताएका थिए ।
हाल कांग्रेसबाट मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राई, माओवादीबाट पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती र नेकपा (एकीकृत समाजवादी) बाट कमलप्रसाद जबेगु भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भइसकेका छन् ।