यी हुन् कांग्रेस, माओवादी केन्द्र, जसपा र राप्रपाका उम्मेदवार
बिर्तामोड । आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवार चयनको प्रक्रिया टुङ्गो लगाएका छन् । आइतबार बसेको पार्टीको बैठकले आ–आफ्नो पार्टीको तर्फबाट नामावली टुङ्ग्याएका हुन् ।
आइतबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले ६ जनाको नाम तय गरेको छ । केन्द्रले कोशीबाट चम्पादेवी कार्की, बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डकीमा मनरुपा शर्मा, लुम्बिनीमा झक्कु सुवेदी, कर्णालीमा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा रेणु चन्दलाई उम्मेदवार बनाउने छ ।
सत्ता गठबन्धनमा भएको भागबण्डा अनुसार राष्ट्रियसभामा चुनावबाट चयन हुने १९ मध्ये ६ सिट माओवादीले पाएको छ ।
नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि १० उम्मेदवार टुंगो लगाएको छ । संस्थापन पक्षका ७ र संस्थापन इतर पक्षका ३ गरी १० उम्मेदवार कांग्रेसले टुंगो लगाएको हो ।
कोशीमा पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला, आनन्दप्रसाद ढुंगाना, बाग्मतीमा विष्णुदेवी पुडासैनी र जितजंग बस्नेत, गण्डकीमा किरण बाबु श्रेष्ठ र पदमबहादुर परियार, लुम्बिनीमा विष्णु देवी सापकोटा, कर्णालीमा कृष्ण रोकाया र सुदूरपश्चिममा नारायणदत्त भट्ट र बलदेव बोहराले टिकट पाएका छन् ।
जनता समाजवादी पार्टी (जसपा)ले पूजा चौधरीलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने भएको छ ।
यता राप्रपाले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ९ उम्मेदवार टुंगो लगाएको छ । आइतबार बसेको पार्टी बैठकले कोशी प्रदेशमा उद्धव पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
राप्रपाले बागमतीमा चार वटै सिटमा उम्मेदवारी दिने भएको छ । महिलातर्फ नानु नगरकोटी, अल्पसंख्यकतर्फ भरतमणि भट्ट, दलिततर्फ पूर्णबहादुर विक र अन्यतर्फ हेमजङ गुरुङ उम्मेदवार हुनेछन् ।
गण्डकी प्रदेशमा महिलातर्फ गौमती श्रेष्ठ र अन्यतर्फ रोमबहादुर भण्डारी, लुम्बिनी प्रदेशतर्फ अन्यतर्फ निरञ्जन थापा र महिलातर्फ विजयलक्ष्मी सिंहलाई उम्मेदवार बनाउने पार्टीले जनाएको छ । मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा राप्रपाका एकएक प्रदेशसभा सदस्य मात्र छन् । त्यसैले समर्थक र प्रस्तावक भए मात्र उम्मेदवारी दिने राप्रपाको तयारी छ ।
११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि आज (२३ पुस)मा मनोनयन दर्ताको कार्यतालिका छ ।