कृष्ण सिटौलालाई राष्ट्रियसभा उम्मेदवार सिफारिस गर्ने निर्णय
बिर्तामोड । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेस झापाले पार्टीका नेता एवम् पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई उम्मेद्वार सिफारिस गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न जिल्ला कार्यसमिति, क्षेत्र, प्रदेशसभा क्षेत्र र गाउँ र नगर सभापतिहरुको संयुक्त बैठकले राष्ट्रियसभा सदस्यका लागि सिटौलाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
यसैगरी बैठकले पार्टी केन्द्रीय समितिको मंसीर २९ गतेको बैठकले तय गरेअनुरुप पुस १६ गतेदेखि माघ १६ गतेसम्म सञ्चालन हुने ‘समुदायमा कांग्रेस’ अभियानलाई सफल बनाउन यसअघि वडा तहमा खटाइएका प्रतिनिधिहरुलाई सम्बन्धित वडामै अभियान सञ्चालनका लागि क्रियाशिल गराउने निर्णय गरेको पार्टी सचिव कृष्ण हुमागाईले जानकारी दिए ।
यसैगरी नेपाल लोकतान्त्रिक आदिबासी र जनजाति महासंघको आगामी पुस २१ गतेदेखि निरन्तर हुने वडा तहदेखिको चुनावी कार्यतालिका अनुसारको तहगत निर्वाचन सफल बनाउन वडामा खटिएका जिल्ला प्रतिनिधिहरुलार्ई यथास्थानमा सक्रियतापूर्वक खटिन आग्रह गर्दै बैठकले महासंघको चुनाव सम्पन्न गराउन सहयोग गर्न पार्टीका सबै तहगत संगठनलाई आग्रह पनि गरेको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए ।
यसैबीच बैठकमा नेपाल लोकतान्त्रिक कानून ब्यवसायी संघको प्रदेश उपाध्यक्षमा निर्वाचित नारायण पौडेल र नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्षमा निर्वाचित घनश्याम चौधरीलाई खदा ओढाएर बधाई ज्ञापन गरिएको थियो ।