प्रधानमन्त्री प्रचण्ड पूर्व आउँदै
बिर्तामोड । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) मोरङको मिक्लाजुङ आउने भएका छन् । उनी पुष ६ गते शुक्रबार मिक्लाजुङ–५ स्थित खोलीखेलको खेल मैदानमा आउन लागेका हुन् ।
‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’ अन्तर्गत आफ्नो क्षेत्र रहेको मिक्लाजुङ–५ मा पार्टी अध्यक्ष आउन लागेको नेकपा माओवादी केन्द्र झापाका अध्यक्ष राजु आचार्य (अग्नी)ले जानकारी दिए । उक्त खेल मैदानमा अध्यक्ष दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए ।
माओवादी केन्द्रले भदौ १६ गतेदेखि देशका सबै वडाहरुमा शुरु गरेको विशेष रुपान्तरण अभियानमा केन्द्रदेखि पालिकास्तरसम्मका नेताहरुको अन्तरपालिका जिम्मेवारी तोकेको छ । शुरुमा तीन महिने अभियान शुरु गरेको माओवादी केन्द्रले अभियानको म्याद थप गरेर सबै नेताहरुलाई गाउँ गाउँमा जनतासँग सम्बन्ध गाँस्दै सुखदुख बुझ्न पठाइरहेको छ ।