२०८३ बैशाख २१ गते , सोमबार

संकल्प यात्रा कसैको विरुद्धमा होइन – ईश्वर पोखरेल

sajilo news
परिवेश मिडिया
२०८० पौष २ गते , सोमबार
संकल्प यात्रा कसैको विरुद्धमा होइन – ईश्वर पोखरेल

बिर्तामोड । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेले भर्खरै सम्पन्न गरेको झुलाघाटचिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा कसैको विरुद्धमा नभएको बताएका छन् ।

सोमबार प्रेस चौतारी झापाले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले संकल्प यात्रा कसैको विरुद्धमा नभई त्यहाँको जनताको अवस्था बुझ्नका लागि भएको बताएका हुन् ।

जनता निराश छन्, पहाडबाट तराई झर्ने र विदेशीने क्रम बढ्दो छ,’ उनले भने, ‘हामीले त्यो किन भइरहेको छ, जनता के चाहन्छन् भनेर बुझ्नु थियो । यात्रा उत्साहपूर्वक सकिएको पोखरेलले बताए । यात्रामा देखिएको जनसहभागिताले एमाले उत्साहित भएको उनको भनाई थियो ।

पहिचानवादीहरुले कोशीमा गरेको अवरोधको बिषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा पोखरेलले संवादबाट समस्या समाधान गर्न र कोशी पुनः नामाकरणको प्रक्रिया भएकाले त्यो प्रक्रियाबाट अगाडी बढ्न सुझाव दिए । ‘त्यसको नि एउटा प्रक्रिया छ, त्यो प्रदेश सभाको बिजनेस हो,’ उनले भने, ‘एमालेलाई ढुंगा हानेर केहि हुँदैन, हामी त्यसरी भौतिक आक्रमणमा उत्रिने कुराको विरोध गर्छौँ ।

एमालेले मंसिर १४ गते बैतडीको झुलाघाटबाट शुरु गरेको संकल्प यात्रा पुष १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन गरेको छ ।

प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा झापा इञ्चार्ज विशाल भट्टराई, जिल्ला अध्यक्ष दिपक कार्की, नेतृ तथा सांसद हर्कमाया विश्वकर्मालगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार