एमाले अध्यक्ष ओलीमाथि मुक्का हान्ने प्रयास
बिर्तामोड । संकल्प यात्राको क्रममा रहेका नेकपा एमाले अध्यक्ष केपी ओलीमाथि मुक्का हान्ने प्रयास भएको छ । बिहीबार धनकुटाको लेगुवामा ओलीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई महालक्ष्मी-५ धनकुटाका महेश राईले मुक्का हान्ने प्रयास गरेका हुन ।
आक्रमण गर्ने महेश राईलाई प्रहरीले रोक्न खोज्दाखोज्दै भीडमा पसेको खुलेको छ । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाका अनुसार उनलाई शंका लागेर सुरक्षामा खटिएका प्रहरीले फूलमाला लगाउने लाइनमा जानबाट रोक्न खोजेका थिए । तर, एमाले कार्यकर्ताकै सहयोग लिएर स्वागत गर्ने लाइनमा पुगेका उनले अध्यक्ष ओलीको टाउकोमा मुड्की हान्ने प्रयास गरेका हुन् ।
‘हाम्रा साथीहरुले रोक्न खोजेका रहेछन् । तर, एमालेकै कार्यकर्ताहरुको सहयोग लिएर लाइनमा छिरेको थाहा भएको छ,’ डीआईजी बाँस्तोलाले भने । उनले आक्रमणकारी राईले मादक पदार्थ सेवन गरेको पनि खुलेको जानकारी दिए ।
मध्यपहाडी संकल्प यात्राको क्रममा भोजपुरबाट धनकुटा प्रवेश गर्ने क्रममा फूलमाला र अविरले स्वागत गर्ने लाइनमा बसेका महेशले ओलीलाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।
आक्रमण लगत्तै एमाले कार्यकर्ताले उनलाई कुटपिट गरेका थिए । राई पहिचानवादी संघ संगठनको कुनै जिम्मेवारीमा भने नरहेको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।