आत्मनिर्भरले गर्यो एक करोड बढी आम्दानी
बिर्तामोड । झापाको बिर्तामोडस्थित आत्मनिर्भर महिला बचत तथा ऋण सहकारी संस्था लि.ले गत आर्थिक बर्षमा १ करोड ११ लाख ६९ हजार ७६७ रुपैँया आम्दानी गरेको छ । संस्थाले शनिबार सम्पन्न गरेको बाह्रौँ बार्षिक साधारण सभा तथा चौथो अधिवेशनमा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उक्त आम्दानी गरेको जनाएको हो ।
बिर्तामोड नगर प्रमुखसमेत रहेकी संस्थाकी अध्यक्ष पवित्रा महतारा प्रसाईले प्रस्तुत गरेको प्रतिवेदनमा आत्मनिर्भर साकोसमा हाल १ हजार ७२० जना सदस्यबाट १ करोड २८ लाख १२ हजार पाँच सय रुपैँया शेयर पूँजी संकलन भएको उल्लेख छ ।
संस्थाले गरेको आम्दानीबाट १६ लाख ८६ हजार ९३३ रुपैँया शेयर लाभांश कोषमा र ११ लाख ३२ हजार १७० रुपैँया संरक्षित पूँजी फिर्ता कोषमा छुट्याएको जनाएको छ ।
संस्थाले राज्यलाई विभिन्न शिर्षकमा गत आवमा ६ लाख ६२ हजार ९०२ रुपैँया कर तिरेको जनाएको छ ।
साकोसले चालु आवदेखि ७० बर्षमाथिका ज्येष्ठ सदस्यलाई बार्षिक २ हजार रुपैँयाका दरले सम्मान गर्ने, स्थायी अपाङ्गता भएका सदस्यलाई ५ हजार एक सय रुपैँया सहयोग प्रदान गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।
साकोस २०६८ सालमा स्थापना भएको थियो ।