झापामा आज राजावादीले शक्ति प्रदर्शन गर्ने
बिर्तामोड । राजावादीहरुले आज झापामा शक्ति प्रदर्शन गर्ने भएका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने भन्दै उनीहरुले शक्ति प्रदर्शन गर्न लागेका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी -राप्रपा_का अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा मेचीनगरको होटल मेची क्राउनदेखि बिर्तामोडको भाटभटेनीसम्म मोटरसाइकल र्याली गर्न लागिएको राप्रपा झापाका अध्यक्ष केशव ओझाले जानकारी दिए । र्यालीमा नेपालको झण्डा प्रदर्शन गरिने उनले बताए ।
शक्ति प्रदर्शन भन्दापनि पूर्व राजालाई स्वागत गर्न लागिएको ओझाको भनाई छ । ‘यो शक्ति प्रदर्शन होइन, राप्रपा संवैधानिक राजसंस्थाको मुद्दा बोकेको राजनीतिक दल भएकाले शाह झापा आउँदा स्वागत गर्न लागिएको हो,’ उनले भने, ‘पार्टीले स्वागत गर्न मात्र लागेको हो, यो हाम्रो कार्यक्रम होइन, कलेजले गर्न लागेको कार्यक्रम भएकाले कार्यक्रम स्थलमा हाम्रो प्रवेश हुँदैन ।’
बिर्तामोडस्थित इकम कलेजले आफ्नो प्राङ्गणमा निर्माण गरेको पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न पूर्व राजा शाह शुक्रबार दिउँसो झापा आएका हुन् । उनी मेचीनगरस्थित होटल मेची क्राउनमा बसेका छन् । राजावादीहरुले दिउँसो साढे बाह्र बजेदेखि होटल मेची क्राउनदेखि मोटरसाइकल र्याली निकाल्न लागेका हुन् ।
र्यालीमा करिब ७ हजार मोटरसाइकलमा मानिसहरु सहभागि हुने राप्रपा झापा अध्यक्ष ओझाले जानकारी दिए । मेची क्राउनदेखि भाटभटेनीसम्म पूर्व राजा शाह गाडीमा आउने र त्यहाँदेखि कार्यक्रमस्थलसम्म पैदलै जाने उनले जानकारी दिए । पूर्व राजा शाहलाई स्वागत गर्न विभिन्न स्थानदेखि मानिसहरु आउँदै गरेको उनले बताए ।