कोशीमा सहमतीय सरकार गठनको प्रयास जारी- मुख्यमन्त्री कार्की
बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सबै दललाई समेटेर सहमतीय सरकार गठनको प्रयास भइरहेको बताएका छन् ।
उनले आफूलाई मुख्यमन्त्री बनाउन सहयोग गर्ने एमालेको प्रस्ताव केही अंश लागू गर्न पनि सहमतीय सरकारको प्रयास भइरहेको बताए ।
‘आफूलाई मुख्यमन्त्री बनाउन जसले समर्थन गरेको हो उसको गुण बिर्सिने छैन,’ बिहीबार पत्रकारहरूसँग मुख्यमन्त्री कार्कीले भने, ‘एमालेले यसअघि सहमतीय सरकारको प्रस्ताव पटक-पटक गरेको र त्यसको केही अंश भएपनि आफूले लागू गर्न सहमतीय सरकारको प्रयास गरी रहेको छु ।’ उनले सहमतीय सरकारले आफूले सफल बनाउने बताए ।
मुख्यमन्त्री कार्की आफूलाई सरकार बनाउन सहयोग गरेको एमालेको एजेण्डा अनुसार नै प्रदेश सरकार विस्तार गरिने बताए । ‘हुन त सरकारमा प्रतिपक्ष चाहिन्छ, तर कोशी प्रदेशको विशिष्ट परिस्थितिलाई ध्यानमा राखेर संविधानको धारा ६८ को ५ अनुसार सरकार बनेकोले गर्दा यहाँका राजनीतिक दलले पनि सोही विवेक प्रयोग गरेर सबै सरकारमा सहभागी हुन्छन् भन्नेमा विश्वस्त छु ।’ उनले कोशी प्रदेशको विशिष्ट परिस्थितिका कारण समर्थन गर्ने र आलोचना गर्नेलाई एकै ठाउँमा बसेर सहकार्य गर्ने वातावरण बनेको बनाए ।
एमालेको समर्थन पाएर असोज २८ गते मुख्यमन्त्री बनेका कार्की यति वेला सरकार गठनमा अलमलिएका छन् । सहमतिको सरकार बनाउने तर कुन-कुन दलहरुलाई सरकारमा समावेश गर्ने भन्ने निर्णय गर्न नसक्दा कोशी प्रदेशको सरकार गठनमा ढिलाई भएको छ ।
तर मुख्यमन्त्री बन्न समर्थन गरेको एमालेको सहयोगले नै आफूले सरकार बनाउने भनिरहेका मुख्यमन्त्री कार्कीले ठोस निर्णय दिन नसक्दा प्रदेश सरकार सञ्चालनमा बाधा पुगेको एमालेका नेताहरुले टिप्पणी गर्न थालेका छन् । नेकपा एमाले कोशी प्रदेशले आफूले सहयोग गरेको हुनाले एमाले र कांग्रेसको सरकार हुनु पर्ने दाबी गर्दै आएका छन् ।