लगानीका लागि आवश्यक कानुन बनाउन सरकार तयार छ : मुख्यमन्त्री कार्की
बिर्तामोड । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा लगानीका लागि आवश्यक कानुन निर्माण गर्न सरकार तयार रहेको बताएका छन् । मुख्यमन्त्री कार्कीले आइतबार बिर्तामोडमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशलाई नमुना प्रदेश निर्माणका लागि लगानी भित्र्याउन आवश्यक कानुन निर्माणका लागि सरकार तयार रहेको बताएका हुन् ।
‘कस्तो खालको कानुन बनाउनु पर्छ, कस्तो खालको संरचनाहरु तयार गर्नु पर्छ,’ मुख्यमन्त्री कार्कीले भने, ‘कुन संरचनाले तपाईहरुलाई समेट्न सक्छ, प्रादेशिक संरचना अन्तर्गत कोशी प्रदेशको समृद्धिमा यहाँहरुको भूमिका कस्तो हुन्छ, यहाँहरुको अनुभव यहाँ प्रयोग गर्नलाई त्यसको लागि प्रदेश सरकार तयार छ ।’ अन्तर्राष्ट्रिय झापाली समाजको चौथो महाधिवेशनमा बोल्दै मुख्यमन्त्री कार्कीले अहिलेको प्रदेश सरकारले सुशासन दिनलाई लगानीको अभिवृद्धि गर्नका लागि कुनै सम्झौता गर्नु नपर्ने बताए । ‘लगानी बोर्डमार्फत कस्तो खालको कानुन बनाउँदा लगानीमैत्री प्रदेश बनाउन सक्छौँ, कस्तो खालको कानुन बनाउँदा सामाजिकमैत्री कानुन बनाउन सक्छौँ भन्ने कुराका लागि हामी सँगै बसेर बनाउन जरुरी छ,’ उनले भने, ‘त्यसका लागि म पालिका प्रमुख ज्यूहरुसँग छुट्टा छुट्टै बसेर छलफल गर्ने कि भन्ने सोँचिरहेको छु ।’ उनले समृद्धिमा जानका लागि जुनसुकै कदम चाल्नपनि सरकार सक्षम रहेको बताए । उनले सरकारको यो अभियानमा समाहित हुन झापाली समाजलाई आग्रह गरे ।
मुख्यमन्त्री कार्कीले झापाली मात्र नभएर विश्वभरी छरिएर रहेकाहरुलाई एक ठाउँमा बाँधेर सिंगो कोशी प्रदेशकै समाज निर्माण गरी कोशी प्रदेशलाई नमुना प्रदेश हो भन्ने अभियान लिएर जान आग्रह गरे । उनले नेताहरुलाई विदेशिने युवा र राजनीतिक दललाई गाली नगर्न आग्रह गरे । विदेश जानेहरुले आफ्नो श्रम मात्र बेच्ने, जवानीमात्र सक्ने नभई त्यहाँबाट आएको रेमिट्यान्सले आर्थिक गतिविधीलाई चलायमान बनाउनुका साथै पछि फर्किएर आउँदा अनुभवपनि लिएर आउने गरेको उनले बताए । सबै कुरा उमेरले मात्र नहुने भन्दै कार्कीले समाजसेवा गर्न र देश चलाउनलाई अनुभवको पनि त्यतिनै खाँचो हुने बताए ।
नेताले भाषणमात्र गर्ने तर त्यो पूरा नगर्ने गरेकाले अहिले गाली खानु परेको बताउँदै उनले बोलेको पूरा गर्नुपर्ने धारणा व्यक्त गरे ।
अहिले डिजास्टर टुरिजम बढिरहेको र त्यो रोक्नुपर्ने कार्कीले बताए । प्रकोप भएको ठाउँमा जाने अनि सहयोग गरेको फोटो हाल्ने काम बन्द गर्नु पर्ने र त्यो प्रकोप नै नियन्त्रणका लागि योजना बनाउनु पर्नेमा कार्कीले जोड दिए ।
कार्कीले कोशीमा सबैलाई समेटेर अगाडी लैजानका लागि गृहकार्य भइरहेकाले सरकार विस्तारमा ढिलाई भएको खुलासासमेत गरे ।