कोशी सरकार गठनमा प्रधानमन्त्रीले मागे राप्रपाको साथ, आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको निर्णय
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग कोशी प्रदेशमा सरकार गठनका लागि सहयोग मागेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार दुई नेताबीच भएको भेटमा प्रधानमन्त्री दाहालले सो प्रस्ताव राखेका हुन् ।
प्रधानमन्त्रीसँगको भेटपछि लिङ्देनले भने, ‘म आफ्नै काम लिएर गएको थिएँ । तर, त्यहाँ पुगेपछि कोशी प्रदेशको सरकारको विषयमा कुरा उठ्ने नै भयो । प्रधानमन्त्रीज्यूले अब के गर्ने भनेर सोध्नुभयो । सहयोग गर्नुर्पयो भनेर भन्नुभयो ।’
प्रधानमन्त्रीले सरकार गठनमा सहयोग गर्न अनौपचारिक प्रस्ताव राखेपछि यसबारे ठोस सहमति भने बनिसकेको लिङ्देनले स्पष्ट पारे । ‘अहिले गठबन्धन पक्षकै सरकार बन्नलाई अकंगणित पर्याप्त छ । ४७ सांसद पुगिहाल्छ,’ उनले भने, ‘तर गठबन्धनभित्र नै कसलाई अगाडि बढाउने भन्नेमा एक मत देखिएको छैन । उहाँहरू यस विषयमा प्रष्ट भएपछि मात्र हामी हाम्रो धारणा बनाउँछौँ ।’
कसलाई अगाडि सार्ने विषयमा गठबन्धनबाट निर्णय भएपछि मुख्यमन्त्री बन्न इच्छा गर्ने व्यक्तिले कस्तो प्रस्ताव ल्याउँछ, त्यसैको आधारमा आफ्नो पार्टी अघि बढ्ने उनले जिकिर गरे । आफ्नो पार्टी अहिले नै हतार गर्ने पक्षमा नरहेको उनको भनाई छ । लिङ्देनले भने, ‘सहकार्यका लागि सबै ढोका खुला छ । तर, जो अगाडि सार्ने हो, इच्छा गर्नेले कुरा ल्याउनुर्पयो । किन सघाउनु पर्ने खुलाउनुर्पयो । हामी सरकार बनाउन उत्सुक भएर जाने योजनामा छैनौँ ।’
आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको निर्णय
नेपाली कांग्रेसले कोशी प्रदेशमा पुनः आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने भएको छ । मंगलबार बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको शीर्ष नेताहरूको बैठकले गठबन्धनमा पहिल्यै भएको सहमतिबमोजिम कांग्रेसकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय लिएको हो ।
सभापति देउवाले गठबन्धनमा भएको सहमतिबमोजिम कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने विषयमा अडान लिएका छन् । बैठकपछि सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गठबन्धनमा पहिल्यै भएको सहमतिबमोजिम कोशीमा कांग्रेसकै नेतृत्वमा सरकार गठनको लागि पहल गर्ने निर्णय भएको बताए ।
‘हाम्रो गठबन्धन छ । गठबन्धनमा पहिल्यै कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने भन्ने सहमति छ । त्यहीअनुसार यसअघि प्रतिकूल अवस्थामा पनि कांग्रेसले नेतृत्व गर्न खडा भयो,’ विश्वकर्माले भने, ‘अब सरकार बन्ने वातावरण बनेको अवस्थामा पछि हट्ने कुरा हुँदैन । तर त्यसकालागि लचिलो भएर संवादको वातावरण बनाउने तयारी छ ।’
कोशीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापा यसअघि दुई पटक मुख्यमन्त्री नियुक्त भएपनि विश्वासको मत पाउन सकेनन् । ‘दुई पटकसम्म हाम्रो संसदीय दलको नेताले विश्वासको मत पाउनुभएन । त्यो परिस्थिति नै प्रतिकूल थियो,’ नेता विश्वकर्माले भने, ‘अब फेरि पनि पार्टीको नेतृत्वमा सरकार गठन हुँदा हामीले उहाँलाई नै अघि सार्ने हो ।’
प्रदेशसभाको पहिलो दलको हिसावले मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले विश्वासको मत जुटाउन नसकेपछि शनिबार पदबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्रीकालागि दाबी पेश गर्न आव्हान गरेका छन् । त्यसकालागि आगामी शुक्रबार साँझसम्मको समय दिइएको छ ।
कांग्रेसले शुक्रबारसम्म सकेसम्म आफ्नै नेतृत्वमा, नभए गठबन्धनका दलहरूको धारणाबमोजिम समेत भएपनि गठबन्धनकै नेतृत्वमा सरकार गठनको बातावरण बनाउन पहल लिने निर्णय गरेको हो ।
कोशी प्रदेशसभा हाल ९३ सदस्यीय छ । त्यसमध्ये बहुमतकालागि ४७ सांसदको समर्थन आवश्यक पर्छ । तत्काल सरकार गठनकालागि आवश्यक पर्ने यो संख्या गठबन्धनसँग पहिल्यै छ । जसमा कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक सांसद छन् ।
तर विश्वासको मत प्राप्त गर्ने बेला फेरि संकट पर्ने भएपछि गठबन्धनले यसपटक राप्रपाको साथ खोजेको छ । प्रदेशसभामा राप्रपाका ६ सांसद छन् । राप्रपाले गठबन्धनलाई साथ दिए प्रदेशमा गठबन्धनलाई सरकार गठनको सहज बातावरण बन्नेछ ।
प्रदेशसभामा एमालेका ४० सांसद छन् ।