कोशीका ४ मन्त्री १२ दिन मै पदमुक्त
बिर्तामोड । कोशी प्रदेश सरकारका चार मन्त्री १२ दिनमै पदमुक्त भएका छन् । पछिल्लो पटक असोज ८ गते मन्त्री बनेका लिलाबल्लभ अधिकारी, वुद्धिकुमार राजभण्डारी, रामप्रसाद महतो र निरन राई मन्त्री बनेको १२ दिन मै पदमुक्त भएका हुन् ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार पदबाट राजीनामा दिएसँगै उनीहरू पदमुक्त भएका हुन् । गत भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले दुई पटक मन्त्रीमण्डल विस्तार गरेका थिए ।
कार्कीले असोज ८ गते दोस्रो पटक लिलाबल्लभ अधिकारीलाई आन्तरिक, मामिला तथा कानूनमन्त्री वुद्धिकुमार राजभण्डारीलाई खानेपानी सिँचाई तथा ऊर्जामन्त्रीमा नियुक्त गरेका थिए ।
त्यस्तै सुनसरीका रामप्रसाद महतो उद्योग, कृषि, सहकारी राज्यमन्त्री र धनकुटाका निरन राई आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा नियुक्त भएका थिए ।
नेकपा एमाले कोशी प्रदेशको अधिवेशनलाई लक्षित गरेर मुख्यमन्त्री कार्कीले दोस्रोपटक मन्त्रीमण्डल विस्तार गरेको आरोप समेत लागेको छ ।
उनले एमाले कोशी प्रदेश कमिटीका अध्यक्षका प्रत्याशी विनोद ढकाललाई हराउन मन्त्री बनाएको आरोप एमालेकै नेताहरूले लगाएका छन् ।
मन्त्रीमण्डल विस्तार गरेपछि कार्की र ढकालबीच एमालेको मतदान स्थलमै भनाभन समेत भएको एमालेका नेताहरूले बताएका छन् ।
एक एमालेका नेताका अनुसार ढकालले आफूलाई असहयोग गरेको भन्दै विश्वासको मत लिएर सरकार जोगाउन कार्कीलाई चुनौती समेत दिएका थिए । १२ दिनमै पदमुक्त भएका मन्त्रीहरूले भने मुख्यमन्त्रीसँग असन्तोष जाहेर गरेका छन् ।