चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री प्रचण्डबीच औपचारिक भेटवार्ता
नेपालको विकासमा सहयोग गर्ने राष्ट्रपति सीको प्रतिबद्धता
बिर्तामोड । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच औपचारिक भेटवार्ता भएको छ ।
शनिबार चीनको हाङचाउमा उनीहरूबीच औपचारिक भेटवार्ता भएको प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी दिएको छ ।
हाङचाउ सहरमा १९औं एसियाली खेलकुदको उद्घाटन समारोहअघि उनीहरूबीच भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री दाहाल शनिबार अमेरिकाको न्युयोर्कबाट चीन पुगेका हुन् ।
राष्ट्रपति सीले चीनले चीन तथा नेपालको सम्बन्धमा उच्च महत्त्व दिँदै नेपालसँग विकासको रणनीतिक सम्पर्कलाई सबल पार्दै विभिन्न व्यवहारिक सहयोग आदानप्रदान गर्ने आफूहरुको इच्छा रहेको बताएका थिए ।
देशको शासन र अनुसन्धानसम्बन्धी अनुभव आदानप्रदानलाई सबल पारी सम्बन्धमा नयाँ प्रगति बढाउने चाहना चीनको रहेको समेत सीले जानकारी गराएका छन् ।
प्रधानमन्त्री दाहाल र नेपाली टोली सहित चिनियाँ राष्ट्रपति र चिनियाँ प्रतिनिधिमण्डलको भेटमा प्रधानमन्त्री दाहालले चीनको विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनालाई सुदृढताका साथ र समर्थन रहेको जानकारी गराए । प्रधानमन्त्रीको हैसियतमा आफ्नो तेस्रो चीन भ्रमणले नेपाल चीन मैत्रीपूर्ण सम्बन्ध र सहयोगका विषयमा नयाँ शक्ति थपिने विश्वास समेत व्यक्त गरे ।
भ्रमणको अवसरमा नयाँ बन्दरगाह सञ्चालनमा
चीन र नेपालबीचको वैदेशिक व्यापारमा नयाँ व्यापारिक मार्ग सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा दुई देशले नयाँ व्यापारिक मार्ग खुलाएका हुन् । कोरोना नाका नजिक बनेको बन्दरगाह सञ्चालनमा आएसँगै चीनसँगको व्यापारमा प्रयोग हुने मुख्य व्यापारिक मार्गको सङ्ख्या तीन पुगेको छ ।
नेपाल–चीनबीच हाल तातोपानी र रसुवागढी गरी दुई व्यापारिक नाका छन् । यो सूचीमा निकट भविष्यमै समुन्द्री सतहबाट ४६ सय मिटरको उचाइमा रहेको लिजी बन्दरगाह थपिएको हो । चिनियाँ पत्रकार शेन शिवेइकाअनुसार नेपालका प्रधानमन्त्रीको चीन भ्रमणको अवसरमा नयाँ व्यापारिक मार्ग सञ्चालनमा आएको हो ।