जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान : अर्जुनधारा र हल्दिबारीमा उत्साहका साथ उद्घाटन
बिर्तामोड । नेकपा माओवादी केन्द्रले शुरु गरेको ‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’ झापाको अर्जुनधारामा उत्साहका साथ उद्घाटन भएको छ । शनिबार अर्जुनधाराका ११ वटै वडामा विभिन्न कार्यक्रम गरी अभियान उद्घाटन गरिएको हो ।
अर्जुनधारा–५ को भानु माविमा भएको कार्यक्रममा उमेश साहलाई पार्टी प्रवेश गराएर कार्यक्रमको उद्घाटन गरिएको थियो । पार्टीका वडाध्यक्ष कमलचन्द्र डाँगीको अध्यक्षता र प्रदेश समिति सदस्य खड्ग तिम्सिना (पवन) को प्रमुख आतिथ्यमा भएको कार्यक्रमका सहभागीहरुले विद्यालय परिसर सरसफाई गरेका थिए ।
त्यस्तै वडा नम्बर ६ को बालविकास केन्द्रमा अभियानको औपचारिक उद्घाटन भएको छ । प्रदेश समिति सदस्य तथा झापा जिल्ला सहइञ्चार्ज सिपी कडरियाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
नारायण चोकमा भएको वडा नम्बर ७ को कार्यक्रममा शहिद डिल्ली नारायण पौडेलकी आमा प्रेमकुमारी पौडेललाई सम्मान गरिएको थियो । उक्त वडाको इञ्चार्ज श्यामबिर लिम्बू रहेका छन् ।
वडा नम्बर ८ का शहिद अनन्त पौडेलका बुवा यामनाथ पौडेल र चन्द्र कडरियाका बुवा विष्णु कडरियालाई सम्मान गरेर कार्यक्रम उद्घाटन गरिएको नगर अध्यक्ष नारद दुखीले जानकारी दिए ।
अन्य वडाहरुमा समेत विभिन्न रचनात्मक कार्यक्रम गरी अभियानको उद्घाटन गरिएको छ ।
त्यस्तै झापाको हल्दिबारीमा आज रक्तदानसँगै शहीद तथा बेपत्ता परिवारसँग भेटघाट गरी अभियान उद्घाटन गरिएको छ ।
हल्दिबारीका पाँच वटै वडामा विविध कार्यक्रमका साथ अभियानको शुरुवात गरिएको नेकपा माओवादी केन्द्र गाउँपालिका कमिटी सचिव दीप राजवंशीले जानकारी दिए ।
अभियान अन्तरगत नेकपा (माओवादी केन्द्र) २ नम्बर वडा कमिटीको आयोजनामा रक्तदान कार्यक्रम भएको हो । पार्टीकी केन्द्रीय सदस्य ममता ताजपुरिया राजवंशीले रक्तदान गर्दै अभियानको उद्घाटन गरिन् । रक्तदान कार्यक्रममा पार्टीकी हल्दिबारी कार्यवाहक अध्यक्ष टिका देवी राउत, २ नम्बर अध्यक्ष खकेन राजवंशी लगायत ३७ जनाले रत्तदान गरेका छन् ।
हल्दिबारीको वडा नं. ३ र ४, ५ वडामा शहीद तथा बेपत्ता परिवार एवम् पूर्व जनमुक्ति सेनासँग भेटघाट गरिएको छ ।
शहीद टिकाराम मेचेको परिवार, बेपत्ता चैतन्य मेचे परिवारको परिवार र पूर्व जनमुक्ति सेनाहरुसँग भेटघाट गरिएको हो । अभियान अन्तरगत वडा नं. ३ मा पार्टीका प्रदेश सल्लाकार सुरेन मेचे र गाउँपालिका उपाध्यक्ष टीका राउत लगायतको टोली जनताको घरघरमा पुगिरहेको छ ।
त्यस्तै, वडा नं. ५ विजय लावती, वडा नं. ४ मा प्रदेश सदस्य शिखर कडरिया, गाउँपालिका सचिव दीप राजवंशी, जिल्ला सदस्यद्वय देवान टुडू र रामहरि नेपाललगायतको टोली जनताको घरघरमा पुगिरहेका छन् ।
भेटघाटमा शहीद तथा बेपत्ता परिवार एवम् पूर्वजनमुक्ति सेनाहरुले नेता सुध्रिनु पर्ने, जनतासँग नियमित भेटघाट गर्नुपर्ने, जनताको चाहना र आवश्यकता सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए ।