जनताको अवस्था बुझ्न माओवादी घर–घरमा जाने
बिर्तामोड । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी रुपान्तरण विशेष अभियान’ शुरु गर्न लागेको छ । माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाले आज एक कार्यक्रमको आयोजना गरी अभियानको बिषयमा अभिमुखीकरण सञ्चालन गरेको हो ।
बिर्तामोडको सिटी सेन्टरमा कार्यक्रम आयोजना गरी पार्टीले जिल्ला, गाउँ तथा नगरपालिका र वडा कमिटीका पदाधिकारीहरुको उपस्थितीमा अभिमुखीकरण सम्पन्न गरेको छ ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय समिति सदस्य तथा कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्वो ‘मौषम’को प्रमुख आथित्यमा भएको कार्यक्रममा पूर्व मन्त्रीहरु, केन्द्रीय सदस्य र प्रदेशका पार्टी पदाधिकारीहरुले जनताको अवस्था बदल्न घरघरमा माओवादी पुगेर सक्रियताका साथ उनीहरुको सल्लाह सुझाव र अवस्थाबारे जानकारी लिन निर्देशन दिएका छन् ।
अभियान अन्तर्गत आगामी भदौ १६ गते देखि ३ महिनासम्म अभियान संचालन गर्न पालिका र जिल्ला अन्तर जिम्मेवारी दिएर कार्यक्रम गर्न सर्कुलर जारी गरिएको छ । पार्टीका जिल्ला इन्चार्ज राजु आचार्य ‘अग्नी’को अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सदस्यहरु शिवकुमार मण्डल, झलकसिं दर्लामी ‘सन्देश’, राजेन्द्र कार्की ‘नविन’, रञ्जित तामाङ, गोङ्बु शेपा ‘कर्जायाङ’, हरिकुमार राना, मोहन खड्का, ज्योतिसिंह दर्लामी, केन्द्रीय अनुशासन आयोगका सदस्य पूर्णसिंह राजबंशी, कोशी प्रदेश सचिव गणेश उप्रेती ‘शुशिल’, सह–सचिव रचना राई लगायतले अभियान संचालन गर्न पूर्ण प्रतिबद्ध भई कार्य गर्ने बताएका छन् ।
१० बर्ष जन युद्ध गरेर राज्यको व्यवस्था बदल्न सफल माओवादीले अव जनताको अवस्था बदल्न कृषि, पर्यटन र रोजगारी लगायतका विषयलाई उच्च प्राथमिकता दिन जनता समक्ष पुग्नु पर्ने भएकाले अभियानमा पार्टीका उच्च पदस्थ नेतृत्व देखि तल्लो तहका कार्यकर्ता समेत परिचालन गर्ने प्रणाली केन्द्रीय सर्कुलरबाटै भएको कार्यक्रमका वक्ताले बताएका छन् ।