२०८३ बैशाख २० गते , आईतबार

कोशी प्रदेश सरकार ढाल्ने खेलमा एमाले

आफैले बोलाएको बैठक छाडेर उपसभामुख लागिन् काठमाण्डौ

sajilo news
परिवेश मिडिया
२०८० भाद्र ४ गते , सोमबार
कोशी प्रदेश सरकार ढाल्ने खेलमा एमाले

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने दिन प्रदेश सभा बैठक सञ्चालनको जिम्मेवारी पाएकी उपसभामुख सृजना दनुवार अचानक बिरामीपरेकी छिन् । विश्वासको मत लिने दिन नेकपा एमालेले उपसभामुख दनुवारलाई अनुपस्थित गराउने आशङ्काबिच उपसभामुख बिरामी परेको भन्दै उपचारका लागि काठमाण्डौ हिँडेकी हुन् ।

बैठक छलेर उपसभामुख दनुवार बिहान ७ बजेको यति एयरलाइन्सको फ्लाइटबाट काठमाण्डौ लागेकी छन् । कोशी प्रदेश सभा सचिवालयमा प्राप्त पत्रमा उनले भनेकी छन्, ‘मेरो स्वास्थ्यमा अचानक समस्या उत्पन्न भई उपचार गर्न प्रदेश बाहिर जानु पर्ने भएकोले मिति २०८०।०५।०४ गते र तत्काल सो भन्दा पछिका सभाको बैठकको अध्यक्षता गरी सभाको बैठक सञ्चालन गर्न असमर्थ भएको छु ।

दनुवारले आफ्नो अनुपस्थितिमा कोशी प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधन २०७५० को नियम ११ को उपनियम ९१) बमोजिम सभामुख र उपसभामुखको अनुपस्थित भएको अवस्थामा बैठकको अध्यक्षता गर्न यस अघि नै सभामुखबाट मनोनीत चार जना सदस्यमध्ये नेपाली कांग्रेसका इस्माइल मन्सुरीलाई बैठक सञ्चालन गर्ने जिम्मेवारी दिएकी छन् ।

माननीय मालती कुमारी लिम्बुले मिति २०८० साल भाद्र १ गते नै आगामी केही बैठकमा अनुपस्थित हुने सूचना दिई सक्नु भएको छ भने वर्णानुक्रममा पहिलो क्रममा रहनु भएका माननीय अम्बर बहादुर विष्टले पनि २०८० साल भाद्र १ गते नै सोही ब्यहोराको सूचना दिनु भएकोले मनोनीत गर्दाको देहायको क्रमसङ्ख्या र वर्णानुक्रमको हिसाबले पनि तपाई दोस्रो क्रम सङ्ख्या र दोस्रो वर्णानुक्रममा रहनु भएको देखिएको ले म उपस्थित नहुन्जेल सम्म तपाईंले प्रदेश सभा नियमावली को नियम ११ को उपनियम २ बमोजिमको अधिकार प्रयोग गर्ने गरी चालु प्रदेश सभाको अधिवेशनका बैठकमा उपस्थित भई बैठकको अध्यक्षता गर्न हुन कोशी प्रदेशसभा सचिवालय मार्फत यो सूचना दिएको छु,’ उनले पत्रमा भनेकी छन् ।

मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा सचिवालयमा आइतबारका लागि समय माग गरेका थिए । थापाको माग विपरीत उपसभामुख दनुवारले भने सोमबारका लागि समय तय गरेकी थिइन् । उनै दनुवारले आज बिहान ८ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाएकी थिइन् ।

यहीबीच थापालाई विश्वासको मत लिन नदिनका लागि एमालेले उपसभामुखलाई अनुपस्थित गराउने आशङ्का गरिँदै आएको थियो । उक्त आशङ्कालाई बल पुग्ने गरी उपसभामुख दनुवार प्रदेशसभाको बैठकै छलेर काठमाडौँ लागेकी हुन् ।

यसअघि हिजै एमालेले ७ जना र राप्रपाले २ जना प्रदेशसभाका ज्येष्ठ सदस्यहरूलाई बिदामा बस्न लगाएको छ । उनीहरूले घरायसी समस्यादेखाउँदै संसद् सचिवालयमा आजको प्रदेशसभा बैठकमा उपस्थित हुन नसक्ने जनाएका छन् ।

थापाले विश्वासको मत लिनका लागि आज दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक बोलाइएको थियो । उपसभामुखले राजीनामा दिएको वा अनुपस्थित भएको अवस्थामा ज्येष्ठ सदस्यले सभा सञ्चालन गर्नुपर्ने भएकोले एमाले र राप्रपाले उनीहरूलाई बिदामा राखेको हो । सभा सञ्चालन गठबन्धन दलकै सांसदले गर्नुपर्ने अवस्था आए मुख्यमन्त्री थापालाई बहुमत (४७) सङ्ख्या र्पुयाउन कठिन हुनेछ । सत्तापक्षमा रहेका ४७ सांसदमध्ये १ सांसदले सभा सञ्चालन गर्नुपरेको अवस्थामा गठबन्धनलाई १ सांसद अपुग हुने देखिन्छ  ।

कोशीमा यसअघि सरकार बनाउन गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गराएको थियो भने प्रदेश सभाका ज्येष्ठ सदस्य कांग्रेस सांसद गयानन्द मण्डललाई बैठकको अध्यक्षता गर्न नदिन राज्यमन्त्रीमा नियुक्त गरेको थियो ।

हाल कोशी प्रदेश सभामा एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादीको १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसदले प्रतिनिधित्व गरिरहेका छन् । एमाले थापा नेतृत्वको सरकार ढालेर पुनः आफ्नै नेतृत्वमा सरकार गठन गर्न चाहन्छ ।

सम्बन्धित समाचार