राष्ट्रपतिले बोलाए सर्वदलीय बैठक
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका शीर्ष नेताहरूलाई राष्ट्रपति पौडेलले मंगलबार बिहान साढे ८ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।
राष्ट्रपतिले शितल निवासमा सर्वदलीय बैठक बोलाएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
संसदमा जारी गतिरोध अन्त्य गर्नेलगायत विषयमा राष्ट्रपति पौडेलले बैठक बोलाएका हुन् ।
यसअघि राष्ट्रपति पौडेलले संसदको गतिरोध अन्त्य गर्ने विषयमा सभामुख देवराज घिमिरे, प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।
आइतबार साँझ राष्ट्रपति पौडेलले संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग छलफल गरेका छन् ।
छलफलका क्रममा समसामयिक राजनीतिक घटनाक्रम र संसदको गतिरोधबारे छलफल भएको प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए ।
एमालेले ६० किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै गत साउन १० गतेदेखि लगातार संसद अवरोध गरिरहेको छ ।