कर वृद्धि नगर्न झापाका स्थानीय तहलाई एमाले झापाको आग्रह
बिर्तामोड । नेकपा एमाले झापाले स्थानीय तहहरुलाई कर वृद्धि नगर्न आग्रह गरेको छ । कोभिड महामारी र त्यसपछिको आर्थिक मन्दीका कारण देश गम्भिर अवस्थाबाट गुज्रिरहेको भन्दै कर वृद्धि नगर्न एमालेले आग्रह गरेको हो ।
आर्थिक रुपमा प्रभावितहरु उठ्न प्रयास गरिरहेको बेला कतिपय स्थानीय तहहरुले गरेको करवृद्धिप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको नेकपा एमाले झापाले जनाएको छ । यस्तो परिस्थितीमा करको दायरा बढाउँदै चुहावट रोक्नु उत्तम विकल्प भएको भन्दै एमालेले पालिकाको ध्यानाकर्षणसमेत गराएको छ ।
आर्थिक रुपमा आम नागरिक आफ्नो दैनिक जिवन चलाउन नसकिरहेको भन्दै स्रोत साधन जुटाउन स्थानीय सरकार करवृद्धिमा लाग्न नहुने एमालेको भनाई छ ।
सरकारले रोजगारीको सिर्जना गर्न नसक्नु, सुशासन र विकासलाई अगाडी बढाउन नसकिरहेको अवस्थामा स्थानीय तहले करवृद्धि गर्दा जनतामा थप निरास र संकट पर्ने एमालेको बुझाई छ । आम जनताको भावनालाई मध्यनजर गर्दै करवृद्धि नगर्न र गरेको स्थानीय तहहरुमा पुनरावलोकन गर्न एमाले झापाले बुधबार प्रकाशित विज्ञप्तिमार्फत आग्रह गरेको हो ।