कोशीको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त
बिर्तामोड । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । उनी पदबाट हटेको हप्तादिन नबित्दै पुनः मुख्यमन्त्री नियुक्त भएका हुन् ।
सभामुखको हस्ताक्षर प्रयोग गरि सरकार गठन गरेको भन्दै सर्वोच्च अदालतले थापा नेतृत्वको कोशी प्रदेश सरकारलाई साउन ११ गते असंवैधानिक ठहर गरेको थियो ।
प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको १६८ को उपधारा २ अनुसार कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थन पाएका थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
थापालाई मुख्यमन्त्री बनाउन काँग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थन रहेको छ । यसअघि सभामुख बाबुराम गौतमले छुट्टै हस्ताक्षर गरेर थापाले मुख्यमन्त्रीको दावी पेश गरेकोमा अहिले गौतमले सभामुखबाट राजीनामा दिइसकेकोले उनी माओवादी संसदीय दलका सदस्य कायम रहेकोले गठबन्धनसँग बहुमत अर्थात ४७ सांसद छन् । गठबन्धनको सरकार बनाउन सभामुख गौतमले आज नै पदबाट राजीनमा दिएका थिए ।