आक्रोशित बिर्तामोडबासीले भने –‘राजश्व वृद्धि फिर्ता गर, करपोषा सरकार मुर्दाबाद’
बिर्तामोड । बिर्तामोड नगरपालिकाले चालु आर्थिक बर्षका लागि एकिकृत सम्पति कर अस्वभाविक बढाएको भन्दै चर्को आलोचना भएको छ । सयौँ गुणासम्म कर वृद्धि गरेपछि पाँच दलका नेता कार्यकर्ता तथा स्थानीयबासीले नगरपालिकाको कदमको विरोध गर्दै सोमबार नगरपालिकामा ज्ञापन पत्र बुझाएका हुन् ।
आज नगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले वृद्धि गरिएको कर तत्काल फिर्ता गर्नुपर्ने माग गर्दै नगरप्रमुख पवित्रादेवि महतारा प्रसाईलाई ज्ञापन पत्र बुझाएका छन् । संयुक्त रुपमा ज्ञापन पत्र बुझाउन गएको टोलीलाई सम्बोधन गर्दै नेपाली कांग्रेस बिर्तामोड नगर सभापति भोजराज सिटौलाले बिर्तामोड नगरपालिकाले अस्वभाविक रुपमा गरेको कर वृद्धि एक हप्ता भित्र फिर्ता गर्न माग गरे । नगरपालिकाले बेवास्ता गरे आफुहरुले जीवन आहुति दिनसमेत तयार भएको बताए ।
‘हाम्रो सरकार भनेको बिर्तामोड नगरपालिका हो, एक बर्षसम्म नगरपालिकाले गरेको केहि राम्रा कामपनि छन्, हामीले सहयोग गरेका छौँ,’ उनले भने, ‘यसपालि बिर्तामोड नगरपालिकाले जानेर गर्यो या भुलमा गर्यो, विगतको बर्षभन्दा एक सयदेखि तीन सय प्रतिशतसम्म जनतालाई कर लिएको प्रमाण हामीसँग छ, यो अत्यन्त अव्यवहारिक ढंगबाट भएको निर्णयको विरुद्धमा जनताको गुनासोलाई आवाज उठाउनु हाम्रो बाध्यता छ कि आवश्यक परे हामीले जीवन आहुति दिनुपनि पर्ने अवस्था छ ।’
उनले बिर्तामोडले गरेको यो निर्णयलाई अगाडी नबढाउन नगरप्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरुलाई आग्रह गरे । त्यहि जग्गा जोतेर भएको उब्जनीबाट बाँच्नु बिर्तामोडबासीको बाध्यता रहेको नगर सभापति सिटौलाले बताए । उनले काम गर्ने मान्छेबाट गल्ती हुनसक्ने बताउँदै बिर्तामोड नगरपालिकाको अनविज्ञताप्रति घोर भर्त्सना रहेको बताए । सिटौलाले बिर्तामोड नगरपालिकालाई सुन्दर बनाउन सम्पूर्ण राजनीतिक पार्टी पछि नहट्ने तर जनतालाई कुठाराघात गर्ने नगरपालिकालाई नछाड्ने समेत बताए । ‘यस नगरपालिकालाई सुन्दर बनाउनका निम्ति सम्पूर्ण राजनीतिक पार्टी आफ्नो दायित्वबाट पछि हट्दैनौँ, मेयर साब तपाईलाई सहयोगका लागि प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ,’ उनले भने, ‘तर लोकतन्त्रमाथि कुठाराघात गर्न पाइँदैन, हामी छोड्दैनौँ । अहिलेको अवस्थामा हाम्रो अन्तिम माग हुनसक्छ यसपालि कुनै कर बन्द गरिनुपर्छ ।’
‘कोरोना कहरपछि बल्लतल्ल तंग्रिएको जनजीवनलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा बिकराल समस्याको रुपमा आएको आर्थिक मन्दीले जनजिविकाको हकमा हातमुख जोर्ने समस्यामा परेका बिर्तामोड नगरबासीलाई ३५ प्रतिशत करवृद्धिको हवला दिँदै ६० देखि ३०० प्रतिशत करवृद्धि गरी असुल उपर गर्ने कार्यप्रति हाम्रो गभिर आपत्ति रहेको जानकारी गराउन चाहन्छौँ,’ ज्ञापन पत्रमा भनिएको छ । सात दिन भित्र माग पूरा नगरिए चरणबद्ध आन्दोलनका कार्यक्रमहरु अघि सार्न बाध्य हुने समेत जनाइएको छ ।
ज्ञापन पत्र बुझ्दै नगरप्रमुख प्रसाईले जग्गा वर्गीकरण पश्चात आवासीय क्षेत्रमा परेको जग्गाको कर वृद्धि भएको र यो माथिबाट नीतिगत रुपमा आएको जानकारी दिइन् ।
नगरप्रमुख महतारालाई कति प्रतिशतसम्म कर वृद्धि गरिएको भनेर सोधिएको प्रश्नको चित्तबुझ्दो जवाफ नदिइ कार्यकक्षमा प्रवेश गरेपछि उपस्थित भिडले कार्यालय प्रवेशद्वारमा चर्को नाराबाजी गरेका थिए । उनीहरुले ‘करवृद्धि फिर्ता गर, करपोषा सरकार मुर्दाबाद’ भन्दै नारा लगाए ।
कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति लक्ष्मी आचार्य, नेकपा माओवादी केन्द्र नगर अध्यक्ष मोहन सुब्बा, उपाध्यक्षहरु कमलप्रसाद कडरिया, जेवी जबेगु, छाँया सिग्देल, सचिव गणेश कालीकोटे, राप्रपा नगर अध्यक्ष रञ्जु प्याकुरेल, रास्वपा नगर सभापति शम्भु भण्डारी, नेकपा एकिकृत समाजवादीका नगर अध्यक्ष श्री प्रसाद सिटौला, नेपाली कांग्रेसका युवा नेता सजेश शिवाकोटीलगायत नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो ।