२०८३ बैशाख २० गते , आईतबार

चुहिने प्वाल टाल्दा नेपाल एयरलाइन्स नाफामा गयो– मन्त्री किराँती

sajilo news
परिवेश मिडिया
२०८० श्रावण १४ गते , आईतबार
चुहिने प्वाल टाल्दा नेपाल एयरलाइन्स नाफामा गयो– मन्त्री किराँती

बिर्तामोड । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले चुहिने प्वाल टाल्दा मात्रैपनि नेपाल एयरलाइन्स नाफामा गएको बताए । आइतबार झापामा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री किराँतीले त्यस्तो बताएका हुन् ।

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको उत्तर दिँदै मन्त्री किराँतीले दुख गरेका कारण घाटामा रहेको एयरलाइन्स नाफामा गएको बताए  । यो जादुचाँहि होइन, दुःख गरेर भएको हो,’ उनले भने,‘१८२० घण्टा हामी सबै खटेर हामीले गरेको हो, चुहुने प्वालहरु हामीले टाल्नु खोजेको हो, मोटामोटी टाल्दाखेरी यति हुँदो रहेछ । अझै सबै टाल्न सकिएको छैन ।सबै मन्त्रीहरु आउँदा विमान घाटामा नगएको भए आज ऋणमा नहुने उनले बताए । बिस्तारै चुहिने सबै प्वालहरु टालेर जिरो बनाउने उनको भनाई छ ।

नेपाल एयरलाइन्सले करोडौँ ऋण तिरेर तीन वटा विमान खरिद प्रक्रिया अघि बढाएको बताउँदै खरिद प्रक्रियामा कमिसनको क उच्चारण नगरिने र गर्न नदिइने बताए ।

कोशी प्रदेश सरकारको बिषयमा पत्रकारले सोधेको प्रश्नको उत्तर दिँदै मन्त्री किराँतीले राष्ट्रिय सहमतिको सरकार बनाउन आफुले जोड दिने बताए । केन्द्रमा पनि राष्ट्रिय सहमतिको सरकार बनाउँ भन्ने मेरो चाँहि त्यो छ, तर त्यो बाटोमा देश अहिले हिँड्छ कि हिँड्दैन किनभने हामीले मिलेरै राजा ढालेको, संविधान बनाएको हो,’ उनले भने,‘सबै संघर्षको मोर्चाहरु चाहि  हामीले मिलेरै लड्यौँ भने देश यस्तो संकटमा परेको बेला देशको विकासको निम्ति, उन्नतिको निम्ति संविधानमै कम्तिमा दश बर्ष चाँहि कोहि प्रतिपक्षमा नबस्ने भनेर लेखेको भएचाहिँ देशले छिटो निकास पाँउथ्यो, समृद्दिको बाटो तिर जान्थ्यो जस्तो लाग्छ ।

मन्त्रीले बोल्ने क्रममा कोशी प्रदेशको साटो १ नम्बर प्रदेश उच्चारण गरेको बिषयमा सोधिएको प्रश्नमा मन्त्री किराँतीले भने– ‘जनताको भावनामा पनि कोशी प्रदेश खास छैन, आम जनताबाट स्वीकारोक्ती छैन, त्यो भन्दा अगाडी १ नम्बर प्रदेश थियो, फेरी नियतबस भन्दा पनि थेगो जस्तै भइसक्यो, ह्याबिटपनि बस्यो होला १ नम्बर प्रदेश भन्ने । मैले त्यहि भएर भनेको हुँ ।

कोशी प्रदेशका सभामुखले संविधान र नैतिकताका आधारमा राजीनामा दिनु नपर्ने मन्त्री किराँतीले बताए । यस अघि संविधानमा त्यस्तो व्यवस्था नभएको र बल्ल सर्वोच्च अदालतले भनेको हुँदा अब उप्रान्त दिनु पर्ला तर अहिले राजीनामा दिनु नपर्ने बताए । तर, राजनीतिक निकासका निम्ति सबै हिसाबले पुगेन भने राजीनामा दिएर मार्ग प्रशस्त गर्दा हुने बताए ।

मन्त्री किराँतीले एयरपोर्ट देशकै ऐना भएकाले सुनकाण्डले कालो दाग लगाएको भन्दै यो दोहोरिन नदिन लागि पर्ने बताए । उनले आफ्नो मन्त्रालयको काम एयरपोर्टमा सेवाग्राहीको सुविधाका लागि काम गर्ने, ग्राउण्ड ह्याण्डलिङ राम्रो गर्ने भएको र आयातित सामानहरुको चेक जाँच लगायतको काम आफ्नो नभएकाले हस्तक्षेप गर्न नमिल्ने बताए ।

प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष राजु पाठकको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेशका पूर्व  कृषि मन्त्री झलकसिं दर्लामी, भद्रपुर नगर समिति अध्यक्ष शिवकुमार राजभण्डारी, बिर्तामोड अध्यक्ष मोहन सुब्बा, उपाध्यक्षत्रय कमलप्रसाद कडरिया, जेबी जबेगु, छाँया सिग्देल, सचिव गणेश कालिकोटे, ३नम्बर इञ्चार्ज जगन्नाथ भट्टराईलगायतको उपस्थिती रहेको थियो ।

 

 

 

सम्बन्धित समाचार