२०८३ बैशाख २० गते , आईतबार

कोशीको काम चलाउ मुख्यमन्त्री को? फैसलाको पूर्ण पाठ नआउँदा अन्योल

sajilo news
परिवेश मिडिया
२०८० श्रावण १३ गते , शनिबार
कोशीको काम चलाउ मुख्यमन्त्री को? फैसलाको पूर्ण पाठ नआउँदा अन्योल

बिर्तामोड । कोशी प्रदेशमा काम चलाउ सरकारको बिषयमा यति बेला अन्योलता देखिएको छ । कानुनी अस्पष्टताका कारण प्रदेश सरकार विहिन बनेको छ । उद्धव थापा नेतृत्व सरकारलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेपछि काम चलाउ मुख्यमन्त्री को? भन्ने प्रश्न उब्जिएको छ ।

असार १५ गते हिक्मत कार्की अल्पमतमा परेपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका थिए । सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरी उद्धव थापाले मुख्यमन्त्रीमा दाबी गरेपछि हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए । साउन ११ गते सर्वोच्च अदालतको पूर्ण इजलासले उक्त रिटमाथि फैसला गर्दै उद्धव थापा नेतृत्व सरकारलाई असंवैधानिक ठहर गरेपछि काम चलाउ मुख्यमन्त्री को भन्ने संवैधानिक प्रश्न खडा भएको हो ।

प्रदेश प्रमुख पर्शुराम खापुङले साउन १२ गते संविधानको धारा १६८ (२) बमोजिम नयाँ मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेपनि काम चलाउ को भन्ने बिषयमा स्पष्ट पारेनन् । उनले फैसलाको पूर्णपाठ आइनसकेको भन्दै त्यस विषयमा प्रक्रिया अघि बढाएका छैनन्। प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले शुक्रबार कामचलाउ सरकारको विषयमा प्रदेश प्रमुखबाट कुनै निर्णय नभएको बताएका छन्। उनले यस विषयमा योभन्दा बढी बोल्ने अधिकार आफूलाई नभएको बताए

प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता शेखर कोइरालाले कोशी प्रदेशको कामचलाउ सरकारका मुख्यमन्त्री उद्धव थापा नै भएको दाबी गरेका छन्कोशी प्रदेशमा अहिले मुख्यमन्त्री उद्धव थापा नै भएकाले उहाँले सात दिनभित्र बहुमत सिद्ध गर्नुहुन्छ,’ उनले भने, ‘सर्वोच्चको फैसलाअनुसार उद्धव थापा नै मुख्यमन्त्री हो

एमाले नेता कार्कीले सर्वोच्चको आदेशले जुन बिन्दुबाट संविधानको प्रयोग र पालनामा त्रुटि भएको हो, सोही अवस्थाबाट संविधानसम्मत् तवरले प्रक्रिया अगाडि बढाउनू भनेर प्रदेश प्रमुखको नाममा परमादेश जारी गरिसकेकाले यस प्रदेशको कामचलाउ सरकारको मुख्यमन्त्री आफू भएको बताए। उनी काठमाण्डौबाट शुक्रबार नै बिराटनगर विमानस्थलमा उत्रिएपनि मुख्यमन्त्री कार्यालयले उनलाई कामचलाउ मुख्यमन्त्रीको रुपमा लिन गाडी पठाएन । मुख्यमन्त्री कार्यालयले गाडी नपठाएपछि अर्कै गाडीमा उनी निवास तर्फ लागे । तर हिजैबाट नेपाली सेनाको जमदारको नेतृत्वको टुकडीले उनलाई सुरक्षा दिन थालेको छ । उनले विराटनगर विमानस्थलमा लिनका लागि के कारणले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गाडी नपठाएको बारेमा आफूलाई जानकारी नभएको तर शुक्रबार साँझ आफूलाई सेनाको सुरक्षा प्राप्त भइसकेको बताए

सम्बन्धित समाचार