२०८३ बैशाख २० गते , आईतबार

कोशीमा सात दिन भित्र अर्को सरकार गठन गर्न परमादेश

sajilo news
परिवेश मिडिया
२०८० श्रावण ११ गते , विहीबार
कोशीमा सात दिन भित्र अर्को सरकार गठन गर्न परमादेश

बिर्तामोड । सर्वोच्च अदालतले कोशी प्रदेशमा सात दिन भित्र अर्को सरकार गठन गर्न परमादेश जारी गरेको छ । उद्धव थापा नेतृत्वको सरकार असंवैधानिक ठहर गर्दै सर्वोच्चले उक्त आदेश जारी गरेको हो । अदालतले बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई ७ दिन भित्र मुख्यमन्त्री नियुक्ति गर्न परमादेश दिएको हो ।  

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ, आनन्द मोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाको पूर्णइजलासले आज कोशी प्रदेश सरकार गठनलाई बदर गरेको थियो । 

पूर्ण इजलासले सभामुख बाबुराम गौतमको हस्ताक्षरलाई त्रुटीपूर्ण भएको ठहर गर्दै नियुक्ति प्रक्रिया नेपालको संविधान प्रतिकुल देखिएकाले उत्प्रेषणको आदेशले बदर गरेको जनाएको छ । 

साथै अदालतको आदेशमा भनिएको छ, ‘सोही अवस्थाबाट संविधानसम्मत् तवरले प्रक्रिया अगाडि बढाउन मनासिब हुने देखिएको हुँदा आजका मितिले सात दिनभित्र प्रदेशसभाको बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्ति गर्नु भनि प्रत्यर्थी कोशी प्रदेशका प्रदेश प्रमुखका नाममा समेत परमादेश हुने ठहर्छ ।

अदालतले सभामुखको भूमिका प्रदेशसभामा राजनीतिक रुपमा तटस्थ र निष्पक्ष रहनुपर्ने कुरा नेपालको संविधानले प्रष्ट व्यवस्था गरेको उल्लेख गर्दै कुनै पनि निर्णय प्रदेशसभामा हुन नसक्ने वा अनिर्णयको बन्दी प्रदेशसभा बन्न नजाओस भनि प्रदेशसभामा हुने निर्णयमा मत बराबर भएमा निर्णायक मत मात्रै प्रदान गर्न पाउने अधिकार नेपाल संविधानको धारा १८६ मा व्यवस्था रहेको स्मरण गराइएको छ।

कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै गत असार २२ गते निर्वतमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । 

सम्बन्धित समाचार