२०८३ बैशाख २० गते , आईतबार

प्रदेश सांसद गोपाल तामाङलाई १५ हजार जरिवाना

sajilo news
परिवेश मिडिया
२०८० श्रावण ९ गते , मंगलबार
प्रदेश सांसद गोपाल तामाङलाई १५ हजार जरिवाना

बिर्तामोड । झापा क्षेत्र नम्बर १ (१) का प्रदेश सांसद गोपाल तामाङलाई १५ हजार जरिवाना गर्ने निर्णय भएको छ । निर्वाचन आयोगको मंगलबार बसेको बैठकले तोकिएको समयमा निर्वाचन खर्च सार्वजनिक नगरेको भन्दै उक्त जरिवाना गर्ने निर्णय गरेको हो ।

आयोगको बैठकले तामाङसहित झापाका ५३ जना उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको छ  ।

तोकिएको समयभित्र निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने प्रतिनिधि सभातर्फका १०३७ जना र प्रदेश सभातर्फका १३९८ गरी कुल २४३५ जना उम्मेदवारहरूलाई  जनही १५ हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

जरिवाना लागेका उम्मेदवारले ३५ दिनभित्र राजस्व दाखिला गरी सोको भौचर सहितको निवेदन निर्वाचन आयोग वा सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्न आदेश दिने निर्णय पनि भएको छ । 

निर्वाचन खर्चको विवरण ७ (सात) दिनभित्र सार्वजनिक गरी सोको जानकारी सम्बन्धित निर्वाचन कार्यालयमा ७ (सात) दिनभित्र निवेदन सहित पेश गर्न पुनः आदेश दिने निर्णय पनि भएको आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै, जरिवाना बापतको रकम तोकिएको समयभित्र नबुझाउने उम्मेदवारहरूलाई तत्काल हुने एक निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाउने र जरिवाना बापतको रकम सरकारी बाँकी सरह असुल उपर गर्न केन्द्रीय तहसिल कार्यालयमा लेखी पठाउने निर्णय पनि भएको छ ।

हेर्नुहोस जरिवाना तोकिएका अन्य को को छन् झापाली उम्मेदवार

सम्बन्धित समाचार