एघार महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, फेसबुक लाइभको तयारी
काठमाण्डौ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । विधानअनुसार प्रत्येक दुई महिनामा कम्तीमा एकपटक केन्द्रीय कार्यसमितिको बैठक बस्नुपर्ने उल्लेख भए पनि एघार महिनापछि आज बैठक बस्न लागेको हो ।
केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकको ‘लाइभ’ -प्रत्यक्ष प्रसारण) गर्ने प्रस्ताव सभापति शेरबहादुर देउवाले राखेका छन् । कुनै पनि राष्ट्रिय दलले आन्तरिक बैठक लाइभ नगरेका बेला देउवाले पहिलोपल्ट यस्तो प्रस्ताव अघि सार्नुलाई कतिपय नेताले रणनीतिक योजना भन्दै अर्थपूर्ण रूपमा लिएका छन् ।
मंगलबारबाट हुने बैठकका एजेन्डामाथि छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारीको सोमबार बसेको अनौपचारिक बैठकमा देउवाले अन्तर्राष्ट्रिय प्रचलनको उदाहरण पस्कँदै बैठक लाइभ गर्ने प्रस्ताव ल्याएका थिए । सभापति देउवाको प्रस्तावमा महामन्त्री गगन थापा, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहलगायतको असहमति थियो । अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने लाइभ गर्दा सकारात्मक सन्देश नै जाने धारणा राखेका थिए ।
महामन्त्री विश्वप्रकाश शर्माले अनौपचारिक बैठकमा सभापतिबाट आएको प्रस्तावका विषयमा व्यावहारिक पक्ष हेरेर मंगलबार मात्रै औपचारिक निर्णय गरिने कान्तिपुरलाई बताए । ‘छलफलका क्रममा सभापतिले लाइभ गरौं भन्नुभयो । त्यसमा कतिपयले हुन्छ र कतिपयले हुन्न भन्नुभएकाले यो विचाराधीनमै छ,’ शर्माले भने, ‘पार्टीको आन्तरिक बैठक लाइभ गर्दा त्यसको व्यावहारिक मर्यादालाई पनि हेरिनुपर्छ । परिपक्वता नहुने, पपुलिजमका कुरा मात्रै हुने अवस्था आउन सक्छ ।’
पदाधिकारी र पूर्वपदाधिकारीबीच मत बाझिए पनि देउवाको निर्देशनअनुसार पार्टीको केन्द्रीय कार्यालयका कर्मचारीले फेसबुक ‘लाइभ’ का लागि क्यामरालगायतको प्राविधिक प्रबन्ध गरिसकेका छन् ।