कोशीको मुख्यमन्त्रीमा थापा नियुक्त, सभामुखको होइन बाबुराम गौतमको समर्थन लिएको थापाको भनाई
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै बिहीबार साँझ प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
थापाले आफ्नो दलका २९ प्रदेशसभा सदस्य, माओवादी केन्द्रका १२ जना, नेकपा एकीकृत समाजवादीका ४ जना, जनता समाजवादी पार्टीका १ जना र सभामुख बाबुराम गौतमको आफूलाई समर्थन रहेको भन्दै दाबी पेश गरेका थिए ।
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाले सरकार गठनका लागि दाबी पेश गर्ने क्रममा सभामुख नभई प्रदेशसभा सदस्य बाबुराम गौतमको समर्थन लिएको बताएका छन् ।
कांग्रेस संसदीय दलका नेता समेत रहेका थापाले मुख्यमन्त्रीमा दाबी गर्दा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीका साथै सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेका थिए ।
मुख्यमन्त्री नियुक्तिपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले सभामुखलाई विवादमा पार्ने काम आफूहरुले नगरेको दाबी गरेका छन् । ‘उहाँ सभामुख मात्र होइन, प्रदेशसभा सदस्य पनि हो । ९३ जना प्रदेशसभा सदस्यमा बाबुराम गौतम पनि हो’, उनले भने, ‘हामीले सभामुखको नाताले होइन, प्रदेशसभा सदस्यको नाताले समर्थन लिएका छौं ।’
सभामुख निर्वाचित भएसँगै गौतमले दलको सदस्यता त्यागेको भन्दै थापाले आफूहरुले पनि तटस्थ सदस्यका रुपमा गौतमको समर्थन लिएको दाबी गरेका छन् ।
उनले प्रदेशको संरचनाभित्र रहेर सरकार विस्तार लगायतको काम गर्ने र संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिने बताए ।