२०८३ बैशाख २० गते , आईतबार

विश्वासको मत नपाएपछि कोशीका मुख्यमन्त्री कार्की सत्ताच्युत

sajilo news
परिवेश मिडिया
२०८० असार १५ गते , शुक्रबार
विश्वासको मत नपाएपछि कोशीका मुख्यमन्त्री कार्की सत्ताच्युत

बिराटनगर । कोशी प्रदेश सरकारको चौथो मुख्यमन्त्रीको रूपमा रहेका हिक्मतकुमार कार्की सत्ताच्युत भएका छन् । अल्पमतमा परेका कार्कीले मागेको विश्वासको माग नपाउँदा सत्ताच्युत भएका हुन् ।

२०७९ पुस २४ गते नियुक्त भएका मुख्यमन्त्री कार्कीले १७४ दिनमा नै सत्ताबाट बाहिरिनु परेको छ । सरकारबाट जसपा र नेकपा माओवादी केन्द्र बाहिरिएपछि कार्की अल्पमतमा परेका थिए । बिहीबारको प्रदेशसभा बैठकमा उनले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मत मात्रै पुगेको छ । जसमा एमालेका ४० र राप्रपाका ६ जना सांसदले विश्वासको मतको पक्षमा मतदान गरेका हुन् । ९३ जना सांसद रहेको प्रदेशसभामा बहुमत पुर्याउनका लागि ४७ सांसद आवश्यक पर्दथ्यो । उनको प्रस्तावको विपक्षमा भने ४३ मत परेको छ ।

पुस २४ गते नियुक्त भएका उनले पुस २५ गते शपथ ग्रहण गरेका थिए । सुरुवाती चरणमै सत्तासहयात्री दल माओवादी केन्द्रको दबाबमा परेका उनले शपथग्रहणको दिन ३ जनामात्रै मन्त्री नियुक्त गरे । उक्त दिन एमालेका तर्फबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्तिप्रसाद सिटौला र जसपाबाट निर्मला लिम्बूलाई मन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री कार्कीले त्यसको पाँच दिनपछि पुनः तीन मन्त्री थप गरे । जसमा माओवादी केन्द्रबाट दुर्गाप्रसाद चापागाई, जीवन आचार्य र एमालेबाट बुद्धिकुमार राजभण्डारी थिए ।

संघीय समिकरण फेरिएसँगै सरकारबाट बाहिरिन नेकपा माओवादी केन्द्रलाई नेपाली कांग्रेसले पटक पटक दबाब दिएपनि लामो समयसम्म माओवादी केन्द्रले कार्कीलाई साथ दिएका थिए । तर दबाब थेग्न नसकेपछि माओवादी केन्द्र अन्तिम  अवस्थामा आएर सरकारबाट बाहिरिएपछि कार्की अल्पमतमा परेका थिए ।  

सम्बन्धित समाचार