विप्लवका कार्यकर्ताले राखे विमलीको घरमा कालो झण्डा
बिर्तामोड । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले झापा बिर्तामोडका नवराज विमलीको घरमा कालो झण्डा राखेका छन् । उनीहरुले विमली मिटरव्याजी भएको र जनतालाई शोषण गरेको भन्दै विमलीको बिर्तामोड–५ को वुधबारे हटियास्थित घरमा कालो झण्डा साथै गेटमा व्यानर राखेका हुन् ।
महिनौंदेखि लघुवित्त, बैंक तथा बित्तीय संस्था र मिटरब्याजी विरुद्ध संघर्ष र चेतावनी दिँदै आएको उक्त पार्टीले आज विर्तामोडमा प्रदर्शन गर्नुका साथै विमलीको घर कब्जामा लिएको हो ।
नेपाल कम्युनिस्ट पार्टीका मेची ब्युरो इन्चार्ज सुमनसिंह सीको नेतृत्वमा गएका नेताकार्यकर्ताहरुले विमलीको घरमा कालो ब्यानर राख्दै कब्जामा लिएको घोषणा गरेका छन । विमलिको घरमा पुगेका उनीहरुले विभिन्न नाराबाजी समेत गरेका थिए ।
नवराज विमलीले सयौं जनतालाई घरबास उठिबास लगाएको, जनतालाई आत्महत्या गर्न बाध्य पारेको, कानुनको दुरुपयोग गर्दै जनतामाथि निरन्तर शोषण कायम राखेको, आफ्ना एजेन्ट र गुण्डाहरु मार्फत जनतालाई आतंकित पारेकाले घर कब्जामा लिएको प्रष्टिकरणसहितको व्यानर उनीहरुले विमलीको गेटमा टाँसेका थिए । उनले लुटेका सबै सम्पत्ति फिर्ता नगरेसम्मका लागि उनको घर कब्जा गरिएको नेकपाले जानकारी दिएको छ ।
विमलीको घरमा ब्यानर राखेर घर कब्जा गरिएको घोषणा गर्दै उक्त पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सी ले झापाका सबै मिटरब्याजीहरुलाई नेकपाले पटकपटक सच्चिन र पीडितहरुबाट ठगी गरेको रकम फिर्ता गर्न विनम्र आग्रह गर्दै आफुहरुले समय दिएको तर मिटरब्याजीहरुले नटेरेका कारण पार्टीले उनीहरुको सम्पत्ति कब्जा गर्नुपरेको बताएका छन् ।
नेता सिंहले यो शुरुआत मात्रै भएको बताउँदै झापाका सबै मिटरब्याजीहरुले ठगी गरेको सम्पत्ति पीडितलाई फिर्ता गर्न आग्रह गर्दै सोझा जनतालाई शोषण गरेर आत्महत्या गर्न बाध्य तुलाउने कार्य नरोके आम जनताको माझमा मिटरब्याजीलाई झुन्डिन बाध्य पार्ने चेतावनी दिएका छन् ।
नबराज विमलीलाई पटकपटक जनता नठग्न, मिटरब्याजको कारोबार बन्द गर्न सम्झाए पनि दादागिरी शैलीमा जनतालाई शोषण गर्न नछाडेकाले निज विमलीको घर कब्जा गरिएको उक्त पार्टीका झापा जिल्ला सचिव सञ्जय सीले बताए । उनले झापाका सबै मिटरब्याजीहरुको लिष्ट पार्टीसँग रहेकाले कोही कसैलाई नछाड्ने चेतावनी दिएका छन् ।
केही महिना अगाडि मात्रै नेता सिंह सहितको टोलीले झापा जिल्ला प्रशासन कार्यलयसँग समेत यस विषयमा छलफल गर्दै प्रशासनले मिटरब्याजी, बैंक तथा वित्तीय संस्थाहरुको गुण्डाराज शैली नियन्त्रणमा नलिए पार्टीले नियन्त्रणमा लिने चेतावनी दिएको थियो । जिल्ला प्रशासनसँगको छलफल पश्चात् उक्त टोलीले सोही समस्या बारे गृहमन्त्री नारायण काजी श्रेष्ठसँग भेटघाट गरी ध्यानाकर्षण गराउँदै प्रशासनले नियन्त्रणमा लिनुपर्ने अन्यथा पार्टीले जस्तोसुकै कदम चाल्ने उद्घोष गरेको थियो ।