अनेरास्ववियु झापाको नेतृत्वमा तीन जनाको दावी, सर्वसम्मत नेतृत्व छान्ने कसरत
बिर्तामोड । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन झापाको नेतृत्वका लागि तीन जनाले दावी प्रस्तुत गरेका छन् । सोमबार भएको २१ जिल्ला अधिवेशनमा अध्यक्ष पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
निवर्तमान उपाध्यक्ष बलराम गिरी, लक्ष्मी गौली र सचिव नारायण पोखरेलले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् । उनीहरु सहित जिल्ला समितिका अन्य पदका लागि ६० जना भन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार राति भएका कारण अधिवेशन स्थगित गरिएको छ ।
नेकपा एमाले झापाका उपसचिव एवम् अनेरास्ववियुका पूर्व नेता असारु राजवंशीको संयोजकत्वमा सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । उपाध्यक्ष पदका लागि तीन, सचिव पदका लागि तीन र सहसचिव पदका लागि १० जनाले मनोनयन दर्ता गराएका छन् ।
नयाँ जिल्ला कार्यसमिति ४५ जनाको हुनेछ ।
सर्वसम्मत नेतृत्व चयनका लागि कसरत भइरहेको र त्यसो हुन नसके निर्वाचनबाट नयाँ समिति चयन गरिने बुझिएको छ ।