कोशीमा आफ्नै नेतृत्वमा सरकार गठन गर्ने माओवादीको निर्णय
बिराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारको नेतृत्वमा दाबी गरेको छ । नयाँ सरकार गठनको पहल सुरु भएसँगै माओवादीले मुख्यमन्त्रीमा दाबी गरेको हो ।
सोमबार बसेको माओवादी संसदीय दलको बैठकले दलका नेता इन्द्र आङ्बोको नेतृत्वमा सरकार गठनका लागि पहल थाल्ने निर्णय लिएको हो । बैठकले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताबारे भने कुनै निर्णय गरेन ।
प्रदेश सांसद गणेश उप्रेतीले भने, ‘भोलि प्रदेशका थप नेताहरु समेत बसेर निर्णय लिन्छौं ।’
स्रोतका अनुसार माओवादीका केही सांसद हिक्मतबहादुर कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइहाल्ने पक्षमा छैनन् भने केहीले फिर्ता लिनुपर्ने बताएका छन् । भोलिसम्ममा साझा मत बनाउने नेताहरु बताउँछन् ।
यसअघि जसपा सरकारबाट फिर्ता भैसकेको छ । एमाले, माओवादी, राप्रपा र जसपाको गरी ५९ सांसदको समर्थनमा कार्की गत पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । माओवादीको १२ र जसपाको १ सांसदले समर्थन फिर्ता लिए कार्की नेतृत्वको सरकार स्पष्ट अल्पमतमा पर्नेछ ।
माओवादी केन्द्रबाट कार्की नेतृत्वको सरकारमा भौतिक पूर्वाधारमन्त्री दुर्गाप्रसाद चापागाईं र पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्य सहभागी छन् । उनीहरू गत माघ ६ गते मन्त्री पदमा नियुक्त भएका हुन् ।
उता नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको गत जेठ ४ गते बसेको बैठकले केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलहरू माओवादी र जसपाले कोशी प्रदेश सरकारबाट फिर्ता आउन आग्रह गरेको थियो ।