एमालेको ब्याक फायर- लडाकु शिविर घोटाला छानबिन गर्न माग
बिर्तामोड । नेकपा एमालेले लडाकु शिविर घोटाला काण्डको छानबिन गर्न सरकारसँग माग गरेको छ । एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्ना सचिव टोपबहादुर रायमाझीलाई पक्राउ पुर्जी जारी भएसँगै शिविर घोटाला काण्ड छानबिन गर्न माग गरेको हो ।
२८ वैशाखमा सुरु भएर शनिबार समापन भएको केन्द्रीय कमिटी बैठकले १६ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । जसको पाँचौं बुँदामा लडाकु शिविर घोटाला लगायत चर्चामा रहेका सबै काण्डको निष्पक्ष छानबिन अघि बढाउन माग गरिएको छ ।
एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक पूर्वाग्रह र दबावविना निष्पक्ष रुपमा छानबिन गरी दोषीमाथि हदैसम्मको सजाय माग गरेको छ । यो प्रकरणमा एमालेले सचिव टोपबहादुर रायमाझीबारे केही उल्लेख गरेको छैन । रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भए पछि फरार भएका छन ।
एमालेले शुरुदेखि दोषी कोही नछुटून् र निर्दोष कोही नफसून् भन्दै आएको उल्लेख गर्दै राज्यका वैधानिक निकायबाट गरिने अनुसन्धानमा पूर्ण सहयोग रहने बताएको छ । ‘…यो बैठक उक्त प्रकरणको कुनै राजनीतिक पूर्वाग्रह र दवावबिना निष्पक्ष रुपमा छानबिन गरी दोषीमाथि हदैसम्मको सजाय होस् भन्ने माग गर्दछ’ एमालेको प्रस्तावमा भनिएको छ ।