भाग नपाएपछि रास्वपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,संगठन निर्माणमा लाग्ने
बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा नजाने निर्णय गरेको छ । यस्तै हाल प्रचण्ड नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिने रास्वपाले निर्णय गरेको छ ।
शुक्रबार पार्टी कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति बैठकले पार्टी सरकारमा सहभागी नहुने र विपक्षी बेन्चमा बस्ने निर्णय भएको एक नेताले बताए । रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अब प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने भएको छ ।
प्रधानमन्त्री प्रचण्डले रास्वपालाई सरकारमा ल्याउन पहल गरेपनि यस अघि कै मन्त्रालय पाउनु पर्ने माग पुरा नभएपछि रास्वपाले सरकारमा नरहेर जनतामा जाने निर्णय गरेको हो ।
नागरिकता विवादमा मुछिएर सांसद पद गएसँगै रास्वपा सरकारबाट बाहिरिएको थियो । तर, समर्थन भने हालसम्म कायमै रहेको थियो ।
यस्तै उपनिर्वाचनपछि रास्वपालाई सरकारमा सहभागी गराउने बारे सत्ता गठबन्धनमा छलफल भएको थियो । रास्वपा सभापति रवि लामिछानेले पनि आफ्नो माग पुरा भएमा सरकारमा सहभागी हुन सकिने बताएका थिए ।
तर, पार्टीभित्रको तीव्र दबाबपछि अन्ततः रास्वपाले सरकारमा नजाने निर्णय गरेको नेताहरुको भनाइ छ । रास्वपा सरकारबाट बाहिर बसरेर संगठन निर्माणमा ध्यान दिने भएको छ । रास्वपाले जनताको मुद्दालाई प्राथमिकता दिँदै देशव्यापी संगठन निर्माणमा होमिने घोषणा गरेको हो ।