२०८३ बैशाख २० गते , आईतबार

ओलीलाई पहिचानवादीको कालो झण्डा, ढुंगा हान्ने दुई जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०८० बैशाख १३ गते , बुधबार
ओलीलाई पहिचानवादीको कालो झण्डा, ढुंगा हान्ने दुई जना पक्राउ

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाएका छन । आज झापाको बुद्धशान्ति गाउँपालिकामा आयोजित कार्यक्रममा कोशी प्रदेश नामाकरणको विरुद्धमा आन्दोलित पहिचानवादीहरुले कालो झण्डा देखाएका हुन । 
एमाले अध्यक्ष ओली बुद्धशान्ति गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुन जाँदै गर्दा कार्यक्रमस्थल नजिकै पहिचानवादीहरूले उनलाई कालोझन्डा देखाउँदै चर्को नाराबाजी गरेका थिए। उनीहरूले ओली सवार गाडीसमेत सडकमै रोक्न खोजेका थिए।  आक्रमणबाट जोगाउन खोज्दा प्रहरीसंग झडप भएको छ । झडपको क्रममा ढुंगा लागेर इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी निरीक्षक अनिल मावोहाङसहित दुई प्रहरी घाइते भएका छन् ।
प्रहरी निरीक्षक मावोहाङ र सहायक हवल्दार सोमित राजवंशी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र रिजालले बताए । उनले एमाले अध्यक्षमाथि आक्रमण गर्न खोज्ने पहिचानवादीहरुलाई रोक्न खोज्दा प्रहरीसंग झडप भएको जानकारी दिए । घाइते दुवै प्रहरीको टाउकोमा चोट लागेकोले बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ।
प्रहरीले घटनामा संलग्न दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मित्र लिङ्देन र बुलेट किराती राई रहेका छन् । आफूहरुको कालो झन्डा देखाउने कार्यक्रम रहेको र कार्यक्रम सकेर फर्किन लाग्दा युवा संघका कार्यकर्ताहरुले घुसपैठ गरी ढुंगा हानेको नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीले दावी गरे । ‘कालो झन्डा देखाएर पत्रकार सम्मेलनका लागि हामी फिर्न लागेका थियौं,’ उनले भने,‘त्यही बेला घुसपैठ भई ढुंगा हान्ने काम भएको हो ।’ ओली बुद्धशान्ति गाउँपालिकाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी भएका थिए । ओलीलाई विरोध गर्न करिव तीन सयको संख्यामा पहिचानवादीहरु गएका थिए । 

सम्बन्धित समाचार