२०८३ बैशाख २० गते , आईतबार

चितवन र बारामा सर्वदलीय बैठक बस्दै, तनहुमा मतगणना जारी

sajilo news
परिवेश मिडिया
२०८० बैशाख ११ गते , सोमबार
चितवन र बारामा सर्वदलीय बैठक बस्दै, तनहुमा मतगणना जारी

चितवन । आइतबार सम्पन्न उप निर्वाचनको मतगणनाका लागि चितवन र बारामा सर्वदलीय बैठक बस्दै छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा आज बिहान ८ बजे र बारा २ मा ६ बजेका लागि सर्वदलीय बैठक आह्वान गरिएको छ ।

चितवन २ मा बिहान ८ बजे सर्वदलीय बैठक आह्वान गरिएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । सर्वदलीय बैठकमा हुने सहमतिपछि मतगणना सुरु हुने बताइएको छ ।

यसअघि आइतबार बस्ने भनिएको सर्वदलीय बैठक विवादका कारण बस्न सकेको थिएन । चितवन २ मा कांग्रेसले रास्वपाका उम्मेदवारमाथि परेको उजुरीबारे निर्वाचन आयोगले निर्णय गरेपछि मात्रै मतगणना सुरु हुन सक्ने अडान लिँदै आएको छ । चिवतन २ मा आइतबार सम्पन्न उपनिर्वाचनमा कुल २२ जना उम्मेदवार छन् ।

बारा २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतपेटिका  संकलन राति नै सकिएको र आज सर्वदलीय बैठक बसेर गणना सुरु गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए ।

सर्वदलीय बैठकले गर्ने निर्णयको आधारमा मतगणना सुरु गरिने उनको भनाइ छ ।  बारा २ को  मतगणना शिक्षा तालिम केन्द्र, कलैयामा हुनेछ । बारामा करिब  ६३ प्रतिशत मतदान भएको छ ।

यता तनहु १ मा भने मत गणना आइतबारदेखि नै जारी छ । पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णीम वाग्ले ५०१९ मत सहित अग्रस्थानमा, नेपाली कांग्रेसका गोविन्द भट्टराई २३५१ मतसहित दोस्रो स्थानमा र नेकपा एमालेका सर्वेन्द्र खनाल १५४९ मतसहित तेस्रो स्थानमा छन् ।

सम्बन्धित समाचार