वित्तीय गुन्डाराज विरुद्ध झापामा विप्लवको विरोध प्रदर्शन
विभिन्न संघर्षका कार्यक्रमको घोषणा
विर्तामोड । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले आज झापाको बिर्तामोडमा विरोध प्रदर्शन तथा जनसभा सम्पन्न गरेको छ । विर्तामोडको मुक्तिचोकस्थित हनुमान कम्प्लेक्सको प्रांगणमा भएको जनसभा कार्यक्रमलाई चर्चित गोर्खा जेल ब्रेककि कमान्डर उमा भुजेल (शिलु) र पार्टीका मेची ब्युरो इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य सुमन सिंहले सम्बोधन गरेका थिए ।
दिउँसो दुईबजे पश्चिम बस स्टेन्डबाट शुरु भएको विरोध र्याली पुरानो भद्रपुर रोड नजिकैबाट बजार परिक्रमा गरी हनुमान कम्प्लेक्सको प्रांगणमा आइपुगेर जनसभामा परिणत भएको थियो ।
झापामा पछिल्लो समय मिटरब्याजी, लघुवित्त, बैंक तथा वित्तीय संस्थाहरुको ज्यादती बढ्दै गएपछि निरन्तर यसका विरुद्ध प्रतिरोध र संघर्ष गर्दै आएको उक्त पार्टीले आज पीडितहरु सहितको जनसभा गरेको हो ।
जनसभालाई सम्बोधन गर्दै कार्यक्रमकी प्रमुख अतिथि उमा भुजेलले बैंक, वित्तीय संस्था र मिटरब्याजीहरुका विरुद्ध पार्टीले समेत संघर्ष गर्दै आएकाले पीडित जनताहरु गोलबद्व भएर ज्यादतीका विरुद्ध प्रतिकार गर्नुपर्ने बताइन् ।
अहिले राज्य सत्तामा बसेर भागबन्डा गर्दै सत्ता हत्याउने एमाले, काङ्ग्रेस, माओवादी लगायतका संसदीय पार्टीले नै यो परिस्थिति सिर्जना गरेको र गुन्डागर्दी संरक्षण गरेको भन्दै भुजेलले अब तिनीहरुका बिरुद्ध जस्तोसुकै कदम चाल्न आफ्नो पार्टी तयार रहेकाले जनताले पनि यसमा साथ दिनुपर्ने बताइन् ।
उनले जतिसुकै नयाँ जोगी आएपनि दलाल संसदीय व्यवस्थाको अन्त्य नभएसम्म जनताका समस्याको समाधान नहुने र जनजिवन झनै कष्टकर बन्दै जाने बताउँदै अब जनतालाई व्यवस्था छान्न दिनको लागि जनमतसंग्रह गरिनुपर्ने समेत बताइन् ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ५० जना युवाहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई कार्यक्रमकि प्रमुख अतिथि भुजेल, पार्टीका केन्द्रीय सदस्य तथा इलाम इन्चार्ज मौसम, मेची ब्युरो इन्चार्ज सुमन सिंह झापा इन्चार्ज प्रशान्तले खदा र अविर लगाएर पार्टी प्रवेश गराएका थिए ।
जनसभामा नेकपाले झापाका विभिन्न होटलमा खुलेआम हुने यौनधन्दा, लागुऔषध, मिटरब्याजी, वित्तीय संस्थाहरुको ज्यादती लगायतका विरुद्ध चरणबद्व संघर्षको घोषणा समेत गरेको छ ।