एमाले अध्यक्ष ओलीको गृह जिल्लामा पार्टी परित्याग गर्नेको होड
बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी एमालेका पुराना र प्रभावशाली झापाली नेताहरुले धमाधम पार्टी परित्याग गरिरहेका छन् । उनीहरुले नेतृत्वसँग असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका हुन् ।
पार्टी अध्यक्ष ओलीसँगै काम गरेका पुराना र सालिन नेता नरेश खरेलले सोमबार पार्टी परित्याग गरेका छन् । एमालेले दक्षिणपन्थी र यथास्थितिवादी शक्तिसँग साँठगाँठ गरेकाले पार्टी परित्याग गरेको खरेलले बताए ।
‘२०७८ मंसिरमा सम्पन्न दसौं महाधिवेशनदेखि नै म पार्टीको गतिविधिमा निष्क्रिय थिएँ । तर आजदेखि औपचारिक रूपमै पार्टी छोडेको छु,’ खरेलले भने, ‘मुख्य गरेर एमाले जुन लक्ष्य लिएर अघि बढ्नु पथ्र्यो त्यो भएन । गलत मान्छे पार्टीमा प्रवेश गराइए अनि दक्षिणपन्थी र यथास्थितिवादी शक्तिसँग साँठगाँठ बढी देखियो ।’
हिजोका उपलब्धी खोसिन्छ कि भन्ने खतरा देखेकोले आफू एमालेबाट बाहिरिएको उनले बताए । अहिले स्वतन्त्र रहे पनि कम्युनिष्ट एकताको लागि पहल गर्ने उनले बताए ।
पार्टीमा पुराना र दुःख गरेका नेता कार्यकर्तालाई पाखा लगाउने अनि अवसरवादीहरूलाई मौका दिने भएकाले समेत काम गर्न नसकिने अवस्था आएको उनको भनाइ छ ।
६८ वर्षीय खरेल पञ्चायतकालमा २०३० देखि २०४६ को अन्तिमसम्म १६ बर्ष ६ महिना जेल परेका थिए ।
खरेलसँगै अन्य कार्यकर्ताहरूले पनि एमाले परित्याग गरेका छन् । उनीहरुले एक प्रेस विज्ञप्ती जारी गर्दै पार्टी परित्याग गरेको जनाएका छन् । खरेल सँगै एमाले परित्याग गर्नेहरुमा कल्पना पोखरेल, गेहराम भट्टराई, अरुण पोखरेल, महानन्द साह, भिमप्रसाद लुँइटेल, साजात आलम, आवालोदिन मिया, हिराप्रसाद पोखरेल, खिना रानामगर (खवास), चन्द्रा श्रेष्ठलगायत रहेका छन् । श्रेष्ठ भद्रपुर नगरपालिकाकी निवर्तमान उपप्रमुख हुन् ।
खरेलले पार्टी परित्याग गर्नु परेको कारणलाई मुख्य गरेर पार्टी र नेतृत्वले पटक पटक गरेको गल्तीहरूलाई औलाएका छन् । उनले भनेका छन ‘महाकाली सन्धि गर्नु लगत थियो । सन्धिमा भनेजस्तो कुरा कार्यनयनमा आएको छैन । सन्धि गरेको वर्ष भनिएको थियो अर्को वर्ष देखि पश्चिमबाट घामै झुल्कन्छ नेताहरूले भनेका थिए ।’ ‘अहिलेको सन्दर्भमा एमसीसी उपयुक्त थिएन, एमसीसी पास गरियो, यसले अन्तराष्ट्रिय शक्तिहरूलाई नेपाल खेल मैदान बनाउने एउटा अवसर प्रदान गर्यो, हामी विदेशी हस्तक्षेपबाट मुक्त रहन सकेनौ, जे उद्देश्यको लागि हिजोको निरंकुश राजतन्त्र पञ्चायत तानाशाहलाई समाप्त गर्न झापा विद्रोह सुरु गरिएको थियो । त्यसमा कम्युनिष्ट पार्टीलाई एकतावद्ध पनि बनाउनु थियो । तर तिनै तानाशाह शक्ति जसले राजतन्त्रलाई पुन स्थापित गर्न चाहन्छन्, ती शक्तिहरू सँगको अघोषित साँठगाठ भइरहेको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘पार्टी भित्र रहेका इमानदार र निष्ठावान् कार्यकर्ताहरू जो संघर्षबाट खारिएर आएका थिए, ती मान्छेहरूलाई पछि पार्ने काम भयो र दक्षिणपन्थी सोच र प्रवृत्ति भएका मान्छेहरूलाई पद र सत्तामा लगियो, त्यो सबै कुराले के देखायो भने नेतृत्व दक्षिणपन्थी तर्फ निरन्तर रुपमा लागि रहेको छ ।’
‘आम नेपाली जनता र इमानदार कार्यकर्ताको आशा विपरित पार्टी नेतृत्वमा देखापरेको गुठबन्दी, दम्भ र अहंकार तथा अन्तरद्वन्दले, संसद विघटन, हुदै पार्टी तिन टुक्रामा विभाजित हुन पुग्यो’ विज्ञप्तीमा उल्लेख छ ।
गत भदौ २५ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगै जेल जीवन बिताएका झापाली नेता खरेलले माधव नेपालको पार्टीमा आफ्नो नाम राखेकोमा आपत्ती जनाएका थिए । ‘संविधान सभामा एमालेको तर्फबाट सदस्य रहेका खरेल झापाको विर्तामोड निवासी हुन । उनी विगतमा एमालेको पोलिटव्यूरो सदस्य थिए ।