रवि लामिछाने पुनः चितवन–२ बाट चुनाव लड्ने
बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने उपनिर्वाचनमा उम्मेदवार बन्ने भएका छन् । पार्टीले लामिछानेलाई चितवन–२ को उम्मेदवार बनाउने निर्णय गरेको हो ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधीसभाको चुनावमा चितवन २ बाट विजयी बनेका लामिछाने उपप्रधान तथा गृह मन्त्री बनेको बेला सर्वोच्च अदालतले उनको नागरिकताको बिषयलाई लिएर सांसद पद खारेज हुने फैसला गरेसँगै उक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो । लामिछानेले नागरिकता पुनःप्राप्ति गरेपछि उपनिर्वाचनमा उम्मेदवार बन्न लागेका हुन् । मंसिर ४ मा भएको निर्वाचनमा लामिछानेले ४९ हजार २६४ मत ल्याएका थिए भने नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८३ र नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४७ मत प्राप्त गरेका थिए ।
पार्टीको बसुन्धारास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी तनहुँ र बाराका लागि पनि उम्मेदवार चयन गरेको जानकारी दिएको छ । तनहुँ क्षेत्र नम्बर १ बाट सांसद बनेका रामचन्द्र पौडेल राष्ट्रपति र बारा क्षेत्र नम्बर २ बाट सांसद बनेका रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि उक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो ।
तनहुँ–१ मा स्वर्णिम वाग्ले र बारा–२ मा रमेश खरेलले रास्वपाबाट टिकट पाएका हुन् । नेपाली कांग्रेसमा रहेका वाग्लेले शुक्रबार नै पार्टी छोडेको घोषणा गरेका थिए । यस्तै नेपाल सुशासन पार्टीका खरेलले पनि रास्वपासँग पार्टी एकीकरण गर्ने विषयमा छलफल भइरहेको बताएका हुन् । रास्वपाले गठबन्धन नगरीकन नै यी क्षेत्रमा निर्वाचन लड्ने घोषणा समेत गरेको छ ।