अनेम संघ (क्रान्तिकारी)द्वारा प्रदेश सांसद तथा जनप्रतिनिधीलाई सम्मान
बिर्तामोड । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले प्रदेश १ का महिला सांसद तथा झापाका महिला जनप्रतिनिधीलाई सम्मान गरेको छ । विहिबार एक कार्यक्रमका बिच नेकपा माओवादी केन्द्रबाट निर्वाचित उनीहरुलाई सम्मान गरिएको हो ।
अनेम संघ (क्रान्तिकारी)ले कनकाईको जामुनखाडीमा आयोजना गरेको शुभकामना तथा वनभोज कार्यक्रममा प्रदेश सांसद बन्दना झाँगड, सम्झना तामाङ, सपना परियार र गिता तिम्सिनालाई सम्मान गरेको हो । झापाकी झाँगड अनेम संघ (क्रान्तिकारी) झापाकी अध्यक्ष हुन । उनी आदिबासी कोटाबाट प्रदेश सांसद भएकी हुन् । त्यस्तै उदयपुरकी तामाङ जनजाती कोटाबाट प्रदेश सांसद भएकी हुन् । पार्टीको बैकल्पिक केन्द्रिय सदस्यसमेत रहेकी सुनसरीकी सपना परियार दलित कोटाबाट र अनेम संघ (क्रान्तिकारी) को प्रदेश संयोजक तिम्सिना खस आर्य कोटाबाट प्रदेश सांसद बनेकी हुन् ।
कार्यक्रममा उपस्थित कमल गाउँपालिकाकी जनप्रतिनिधीहरु कल्पना राई, कमला विक, हल्दिबारीकी रचना राई र अम्बिका तोलाङ्गीलाईसमेत सम्मान गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पूर्व स्वास्थ्य राज्यमन्त्री धर्मशिला चापागाई, पार्टीका केन्द्रिय सदस्य तथा प्रदेश १ का पूर्व कृषि मन्त्री झलकसिं दर्लामी (सन्देश), पार्टीका प्रदेश कोषाध्यक्ष रेवतीराज पुरी (गगन), झापा सहइञ्चार्ज सिपी कडरिया, जिल्ला संयोजक राजु आचार्य (अग्नी) लगायतले सम्मान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी चापागाईले संविधानले महिलाका लागि प्रदान गरेका मौलिक अधिकार संविधान मै सिमित रहेको बताएकीछन् । संविधान निर्माणपश्चात कोरोना संक्रमण तथा पटक पटकको संसद विघटनका कारण त्यो कार्यान्वयन तहमा आउन नसकेको उनको भनाई छ । महिला अधिकारलाई नयाँ शिराबाट बहस गर्नुपर्ने आवश्यकता रहेको उनले बताइन् । उनले नयाँ संविधान बनिसक्दापनि पश्चिम नेपालमा वादी, देउकी लगायतका कुप्रथाहरु कायमै रहेको बताइन् । पश्चिमा प्रभावका कारण कतिपय संस्कार र संस्कृतिका कारण महिलाहरु उत्पिडनमा परेको उनको भनाई थियो ।
प्रमुख अतिथी चापागाईले नयाँ निर्वाचित सांसद तथा जनप्रतिनिधीहरुलाई बधाई तथा शुभकामना दिँदै महिला हकहितका लागि सदैव लागिपर्न आग्रह गरिन् । उनले हिजोको सामन्ती राज्य संरचनाले महिला र दलितलाई मान्छे नै नगन्ने गरेका कारण त्यो वर्गलाई माथि उकास्न चुनौती रहेको भन्दै त्यतातिर विशेष ध्यान दिनसमेत सुझाव दिइन् ।
प्रदेश सांसद तामाङले अनुभूति मन्तव्यको क्रममा सदनबाट महिलाहरुको हकहित र नेतृत्व विकासका लागि काम गर्ने प्रतिबद्धता जनाईन् । त्यस्तै अर्की सांसद परियारले महिला अधिकारका लागि एकता र संघर्ष आवश्यकता रहेको औँल्याइन् । अनुभूति मन्तव्यको क्रममा सांसद तिम्सिनाले सम्मानित सदनमा गएका आफूहरुमाथि जनताले आशा गरेको बताउँदै त्यो आशा पूरा गर्न आफूहरु लागि पर्ने बताइन् ।
पार्टीका केन्द्रिय सदस्य दर्लामीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य लक्ष्मी न्यौपाने (सरु), अनेम संघ (क्रान्तिकारी) केन्द्रिय सदस्य निरु खतिवडा, नेतृ रक्षा कडरिया, अस्मिता तामाङ, टिका राउत, लेखक संघकी केन्द्रिय उपाध्यक्ष सुमित्रा वाङ्देल चेली, बुद्धिजिवी संघका प्रदेश संयोजक राधिका ओझा, अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सचिव खगेन्द्र सुवेदी, सदस्यहरु सरस्वती चम्लागाई, मनिषा आचार्यलगायत नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
अनेम संघ (क्रान्तिकारी) झापा अध्यक्ष माननीय बन्दना झाँगडको अध्यक्षतामा भएको कार्यक्रम सचिव इन्दिरा कार्कीले सञ्चालन गरेकी थिइन् भने सहभागीलाई भुमिका कोइरालाले स्वागत गरेकी थिइन् ।