संसदीय दलको नेतामा ‘पुरानै अनुहार’
बिर्तामोड । प्रतिनिधीसभा तथा प्रदेशसभा सदस्यको सपथ नजिकिएसँगै दलहरु संसदीय दलको नेता छान्नमा व्यस्त रहे । राजनीतिमा युवा पुस्ताको आकर्षण बढेपनि अधिकांश दलमा संसदीय दलको नेतामा पुरानै अनुहार दोहोरिए ।
नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीलेपनि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई नै संसदीय दलको नेता बनाएको छ ।
यता लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलको बैठकले महन्थ ठाकुरलाई दलको नेता चयन गरेको छ ।
पुस्ता हस्तान्तरणको प्रक्रियामा अगाडी बढेको नेपाली कांग्रेसमा समेत संसदीय दलको नेताका रुपमा पार्टी सभापति शेरबहादुर देउवा नै निर्वाचित भएका छन् । युवा पुस्ताको प्रतिनिधित्व गर्दै संस्थापन इतरबाट उम्मेदवारी दिएका गगन थापालाई भारी मतले पराजित गर्दै पुनः देउवा दलको नेताको रुपमा निर्वाचित बने । नेकपा माओवादी केन्द्रले भने संसदीय दलको नेता छान्न बाँकि छ । तर, माओवादी केन्द्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै दलको नेताको रुपमा छानिने पक्कापक्की छ ।
मंसिर ४ मा सम्पन्न प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनको मत परिणामले मतदाताको रोजाइ युवा पुस्ता भएपनि दलहरु भने पुरानै पुस्तालाई निरन्तरता दिने बाटोमा देखिएका छन् ।