माओवादी केन्द्र र नेकपा एसले गर्यो चुनावी समिक्षा
बिर्तामोड । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को संयुक्त आयोजनामा झापाको बिर्तामोडमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । पार्टीले अगुवा कार्यकर्ता भेटघाटसहित गत मंसिर ४ गते सम्पन्न निर्वाचनको समिक्षासमेत गरेको छ ।
कार्यक्रममा सवै वडाका उपस्थित प्रमुख तथा प्रतिनिधिले आ–आफ्नो भनाई प्रस्तुत गर्दै गत मंसिर ४ गते भएको प्रदेश र संघको निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धनका अन्य दलका उम्मेद्वारलाई भोट नदिएकाले नै पराजित हुनु परेको धारणा राखेका थिए ।
नेकपा (माओवादी केन्द्र) बिर्तामोड नगर कमिटी अध्यक्ष मोहन सुब्वाको अध्यक्षतामा भएको कार्यक्रममा गत मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार हरिकुमार राना र प्रदेशसभा सदस्य पदका उम्मेद्वार पुष्पराज पोखरेलले आफ्नो भनाई राखेका थिए ।
उपस्थित नेता तथा कार्यकर्ताले कार्यक्रममा माओवादी केन्द्र र एस एकता गर्ने केन्द्रमा समेत कुरा चलिरहेको र चाँडै एकता हुनेमा बिश्वास ब्यक्त गरे । त्यस्तै पार्टी र पार्टीका जनबर्गीय संगठनलाई सक्रिय तथा चलायमान बनाउनु पर्नेमा दुवै पार्टीका नेता तथा कार्यकर्ताले जोड दिएका छन् ।
नेकपा एसका बिर्तामोड नगर अध्यक्ष श्रीप्रसाद सिटौलाले स्वागत गरेको कार्यक्रममा माओवादीका प्रदेश कमिटी सदस्य ज्योतिसिंह दर्लामी, माओवादी झापा सचिव मोहन टुडुलगायतले आफ्नो भनाई राखेका थिए भने कार्यक्रमको सञ्चालन माओवादी केन्द्र बिर्तामोड नगर सचिव गणेश कालिकोटेले गरेका थिए ।
कार्यक्रममा माओवादीका प्रदेश कमिटी सदस्य बासु दुलाल, प्रदेश सदस्य तथा अनेम संघकी केन्द्रिय सदस्य निरु खतिवडा, नेकपा एस युवा संघका केन्द्रिय सचिव प्रत्युस राना, माओवादी केन्द्र बिर्तामोड नगर उपाध्यक्ष कमलप्रसाद कडरिया, उपाध्यक्ष छायाँ सिग्देललगायत दुवै पार्टीका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।