मन्त्री पदको उम्मेदवारको लाइनमा म छुइन : विश्वप्रकाश शर्मा
बिर्तामोड । नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले आफू मन्त्रीहुने दौडमा नरहेको बताएका छन् । बुधबार झापाको बिर्तामोडमा नेपाल प्रेस युनियन झापा शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै सांसद शर्माले अब बन्ने मन्त्रीमण्डलमा आफु मन्त्री हुने उम्मेदवार नभएको स्पष्ट पारेका हुन् ।
‘एउटा पार्टीको महामन्त्री, मेची अञ्चल भरिबाट जितेर गएको एक मात्र सांसदले मन्त्री बन्छु भन्दै गर्दा मन्त्री बन्ने कुरा तुलानात्मक रुपमा सजिलो छ,’ शर्माले भने, ‘तर मेरो सिधासिधी कुरा के छ भने अहिले तुरुन्तै बन्ने सरकारमा मन्त्री बन्ने उम्मेदवारको रुपमा म छैन, विश्वप्रकाश शर्मा त्यो उम्मेदवारको रुपमा छैन ।’ उनले अन्य सांसदहरुलाई मन्त्री बनाउने तर्फ लाग्ने बताए । निर्वाचन भर्खरै सम्पन्न भएर सुभेच्छुकले दिएको फुलमाला थापी नसक्दै मन्त्री बन्न खुट्टा उचालिहाल्ने संस्कृती सुसंस्कृत राजनीतिको रुपमा आफूले नमान्ने बताए । ‘हिजो राजनीतिक परिवर्तन अब राजनीतिमा परिवर्तन भन्ने मान्छे म मन्त्री पदको उम्मेदवार छैन भन्ने कुरा बिर्तामोडबाट स्पष्ट पार्न चाहन्छु,’ उनले प्रष्ट्याए । यसको अर्थ मन्त्री नै नबन्ने, भोलि प्रधानमन्त्रीको लागि तयारी नगर्ने भन्ने नभएको र समय आएपछि अवश्य मन्त्री बन्ने सांसद शर्माले बताए ।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले यो अवधिमा थुप्रै राम्रा काम गरेकाले कार्यकुशलताको सम्मान पाउनुपर्ने बताउँदै शर्माले त्यो सम्मानलाई दोब्बर गर्न आफूसँगै दशकौँदेखि सहकार्य गरिरहेका पुराना नेता रामचन्द्रदेखि वर्तमान युवा नेता गगन थापासम्मलाई पाँच पटक प्रधानमन्त्री भइसकेका देउवावले अबको प्रधानमन्त्रीका लागि प्रस्ताव गर्नुपर्ने धारणा व्यक्त गरे । आफूलेपनि सभापति देउवालाई भेटेर त्यो कुरा राख्ने बताए । विश्वका शक्तिशाली देशहरु बेलायत, फ्रान्सलगायतको उदाहरण दिँदै युवाहरु प्रधानमन्त्री बन्न सक्ने भन्दै सांसद भइसकेको, मन्त्रीको अनुभव भइसकेको र नयाँ दृष्टिकोण भएकाले गगन थापाले नेपालको प्रधानमन्त्रीको रुपमा काम गर्न सक्नेमा जोड दिए ।
शर्माले बर्तमान गठबन्धन कै सरकार बन्ने बताए । नेपाली कांग्रेसले आफूसँगै रहेका दलहरुलाई सँगसँगै विश्वासमा लिएर देशलाई एउटा बाटोमा लिएर जानुपर्ने धारणा व्यक्त गरे । संसदलाई पाँच बर्ष स्थीरताका साथ चलाउने, सरकारलाई गतिशिलताका साथ चलाउने, न्यायालयलाई स्वच्छ छविका साथ चलाउने, राजनीतिलाई परिवर्तित सन्देशका साथ चलाउने र सिंगो राष्ट्रलाई नविन मनोविज्ञानका साथ चलाउने शर्माले धारणा व्यक्त गरे ।
प्रेस युनियन झापाकी सभापति इन्दु पुर्वेलीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, उपसभापति केशवराज पाण्डे, नवनिर्वाचित प्रदेशसभा सदस्यहरु गोपाल तामाङ, भूमि राजवंशीलगायत अतिथिहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा नव निर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरुलाई सभापति पुर्वेली, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायत कार्यक्रममा उपस्थितहरुले खदा ओढाएर सम्मान गरेका थिए ।