एकै व्यक्ति पटक पटक प्रधानमन्त्री बन्ने कुराले रुपान्तरण हुँदैन : कांग्रेस महामन्त्री शर्मा
धुलाबारी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा आफ्नो प्रतिनिधित्व व्यक्तिको जीत नभई परिवर्तनका पक्षमा व्यक्त अभिमत भएको बताएका छन् ।
गृहनगर धुलाबारीमा मंगलबार आयोजित अर्जुनदृष्टि अभियानको आभार समारोहमा बोल्दै उनले चुनाव जित्नेहरु मतदाताको प्रतिनिधि पात्र मात्रै भएको स्पष्ट पारे । ‘प्रतिस्पर्धीलाई भन्दा १४ र १५ हजार मतदिने व्यक्तिलाई कहिल्यै बिर्सन सकिन्न,’ उनले भने, ‘तपाईंहरुको यो विश्वासले थप आत्मविश्वास बढेको छ ।’
उनले मतदाता समक्ष गरेका बाचा पूरा गरेरै छाड्ने दृढता व्यक्त गरे । आफू बदलिएको जनादेशको मनोविज्ञानलाई बुझेर अघि बढ्नु पर्ने पक्षमा रहेको बताएका शर्माले केही दिन अघि आफू काठमाडौँ पुगेर त्यसको पेश्की भूमिका निर्बाह गरेको उल्लेख गरे । ‘लोपोन्मुख तथा अल्पसंख्यक समुदाय , महिला, मजदुर सबै व्यक्तिले देश विकासमा आआफ्नो स्थानबाट योगदान गरिरहनु भएको छु’ झापा १ का नवनिर्वाचित सांसद समेत रहेका शर्माले भने, ‘देश बनाउने काम मन्त्री र प्रधानमन्त्रीको मात्रै होइन, देश बनाउने भूमिका सबैले निर्वाह गरिरहेको हुन्छ ।’
उनले देश बनाउने भूमिका प्रधानमन्त्रीलाई दिने पद्धति नै बदल्नु पर्नेमा जोड दिए । भोट दिएर जिम्मेवारी सकिने होइन मतदाता र उपविजेताको काम कहिल्यै नसकिने बताए । ‘सिंहदरबार मात्रै देश होइन, सबै काम र पेशा गर्बे व्यक्ति मिलेर बसेको भूगोल नै देश हो’ शर्माले भने, ‘राष्ट्र निर्माण आमूर्त चिज होइन, विदेशमा रहेकाले कमाएर पठाएको पैसाले देशको अर्थतन्त्रको धुकधुकी बचाएको छ ।’
देशलाई जोगाउन काम गर्ने हरेक व्यक्तिलाई आफूले सम्मान गर्न चाहेको शर्माको तर्क छ । ‘प्रेमको विजारोपण झापा १ बाट देशभर पुर्याउने योजना रहेको उनले सुनाए । झापा १ मा प्रतिस्पर्धा गरेका सबै उम्मेदवार एक ठाउँमा बसेर राय संकलन गर्ने, त्यही अनुरुप योजना बनाउने र काम गर्दै अघि बढ्ने पक्षमा आफू रहेको उनले बताए । ‘जनादेशलाई ‘गणितको जोडघटाउले हेर्न हुँदैन, यो देश विकासका लागि घातक हुन्छ,’ उनले भने, ‘देश विकासका लागि म नै जरुरी छ भन्ने राजनीतिक संसकार भत्काउन आवश्यक छ ।’
एउटै व्यक्ति पटकपटक प्रधानमन्त्री बन्ने कुराले रुपान्तरण नहुने उनको निष्कर्ष छ । कांग्रेस पार्टी सभापतिका अघि कयौं विकल्प रहेको उनले बताए । देशमा युवा पुस्ताको नेतृत्वका लागि संसदीय दलमा छलफल घनिभूत बनाउने आफ्नो लक्ष्य रहेको उनले सुनाए । आफू सांसद, मन्त्री मात्रै होइन देशको प्रधानमन्त्री बन्ने र विकास गर्ने योजनामा रहेको उनले बताए ।
‘राष्ट्रिय मनोबल उँचो बनाउन रुपान्तरित मतको सम्मान गर्नसक्नु पर्छ,’ उनले भने, ‘हरेक व्यक्ति हारेको बुझे मात्रै जीतको मनोविज्ञान पैदा हुन्छ ।’ उनले देश विकासका लागि वाद र बिचार भन्दा माथी उठेर समृद्धिको साझा खाका बनाउन जरुरी भएको औँल्याए । निर्वाचनमा सबैको साथ र पूर्ण सहयोग रहेको बताएका उनले विश्वप्रकाश पर्दाको साथी भएको विश्वास दिलाए ।
कार्यक्रममा नवनिर्वाचित प्रदेश सांसद गोपाल तामाङले आफूलाई माननीय नभनिदिन आग्रह गरे । यहिँको छोरानाती भएकाले कार्यालय समय बाहेक अरुबेला आफू माननीयको भूमिकामा नहुने बताए ।
झापा १ प्रदेश (ख) मा उपविजेता बनेका श्यामवीर लिम्बुले विचारबिहीन शक्तिको उदयले देश दुर्घटनामा जाने खतरा बढेको बताए । उनले मंसिर ४ को निर्वाचनमा भएको स्वतन्त्र समूहको उदय त्यसको प्रमाण भएको धारणा राखे । उनले हरेक राजनीतिक दलमा बिचारको बहस थाल्नु पर्नेमा जोड दिए ।
‘राजतन्त्रसँग गणतन्त्र भाग्दा १७ हजारको ज्यान गयो, गणतन्त्रसँग राजतन्त्र भाग्दा जनताले भोट दिए’ राप्रपा उम्मेदवारसँग पराजित भएका लिम्बुले भने, ‘मलाई मत हाल्ने र नहाल्नेलाई मैले राम्ररी चिनेको छ, अब पार्टीमा अन्तरसंङर्ष राँको सल्काउछु ।’ कांग्रेस नेताकार्यकर्ताले निर्वाचनमा दिएको साथ र सहयोग आफ्ना लागि भावनात्मक सम्पत्ति भएको उनले बताए । आफूलाई हराउन केही व्यक्तिले अराजनीतिक कुरा गरेको र त्यो राजनीति संस्कार नभएको उनको टिप्पणी छ ।
आभार समारोहमा कांग्रेस केन्द्रिय सदस्य गोमा भट्टराई, कांग्रेस झापा कार्यबाहक सभापति केशवराज पाण्डे, संविधानसभा सदस्य उषा गुरुङ, कांग्रेस नेता राम कट्टेल, कांग्रेस झापा १ का क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, नेकपा (एकीकृत समाजवादी) का झापा सचिव बिपी भट्टराई, उपाध्यक्ष सविता भेटवाल, नेकपा माओवादी केन्द्रका नेता राजु दाहाल लगायतले चुनावी समीक्षाका साथ आआफ्नो धारणा राखेका थिए ।