२०८३ बैशाख १९ गते , शनिबार

प्रदेश १ मा गठबन्धनको सरकार बन्ने सम्भावना बलियो

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर १३ गते , मंगलबार
प्रदेश १ मा गठबन्धनको सरकार बन्ने सम्भावना बलियो

बिराटनगर । प्रत्यक्षतर्फ ५६ निर्वाचन क्षेत्र रहेको प्रदेश १ प्रदेशसभाको ५३ सिटको नतिजा आउँदासम्म आगामी सरकार कसको बन्छ यकिन भइसकेको छैन। तर समानुपातिकतर्फको गणनाको अहिलेको 'ट्रेन्ड' कायम रहे प्रदेश १ मा हालको सत्ता गठबन्धनकै सरकार बन्ने देखिएको छ। यद्यपि यो सम्भावनामा नतिजा आउन बाँकी रहेका प्रदेश सभाका तीन क्षेत्रको अन्तिम नतिजाले प्रभाव पार्नेछ।
त्यसो त प्रदेशमा समानुपातिकतर्फ पनि मतगणना अन्तिम चरणमा पुगेको छ।
निर्वाचन परिणाम अन्तिम चरणमा पुग्दा आगामी सरकारबारे जोडघटाउ सुरू भइसकेको छ।
अहिलेसम्म मतपरिणाम घोषणा भएका ५३ क्षेत्रमध्ये एमालेले २४ सिट जितेको छ। कांग्रेसले १५, माओवादी केन्द्रले ९, एकीकृत समाजवादीले ३ र राप्रपाले २ सिट जितेको छ। अहिलेसम्म सत्तारूढ गठबन्धनले २७ सिटमा जित निकाल्दा एमाले–जसपा–राप्रपा गठबन्धनको २६ सिट छ।
मतगणना जारी रहेका प्रदेश सभाको सुनसरी क्षेत्र नम्बर ३ (ख), क्षेत्र नम्बर ४ (क) र ४ (ख) को भने परिणाम आइसकेको छैन। ती तीनवटै क्षेत्रमा चुनाव जित्ने सत्तारूढ गठबन्धनको दाबी छ।
क्षेत्र नम्बर ४ को दुवै प्रदेश सभामा कांग्रेसका उम्मेदवारले अग्रता लिएका बेला मतगणना स्थगित भएको छ। क्षेत्र ४ को 'क' मा सत्तारूढ गठबन्धनका उम्मेदवार कांग्रेसका सदानन्द मण्डल अग्रतामा छन् भने ४ को 'ख' मा कांग्रेसकै इसरायल मन्सरीले अग्रता लिएका छन्।
सुनसरीको क्षेत्र नम्बर ३ 'ख' मा भने एमालेका रामदेव यादवले अग्रता लिएका छन्।
अहिलेसम्मको प्राप्त मत हेर्दा गणना जारी रहेका तीन क्षेत्रमध्ये कांग्रेसले दुई र एमालेले एक सिट जित्ने सम्भावना देखिन्छ। यदि अहिलेकै अवस्था अन्तिम नतिजासम्म कायम रहे सत्ता गठबन्धनको प्रत्यक्षतर्फ २९ सिट हुनेछ भने एमाले गठबन्धनको २७ सिट हुनेछ। त्यो अवस्थामा सरकार निर्माणका लागि आवश्यक बहुमत जुटाउन समानुपातिकबाट गठबन्धनले १८ सिट प्राप्त गर्नुपर्नेछ।
अहिलेसम्म समानुपातिकको करिब ९० प्रतिशत मतगणना भएको छ। समानुपातिकतर्फ अहिलेसम्म गणना भएको सदर मत १७ लाख १० हजार ९९७ मतमध्ये एमालेले सबैभन्दा धेरै पाँच लाख ९८ हजार १८०, कांग्रेसले पाँच लाख १ हजार ७०३, राप्रपाले एक लाख ८२ हजार ८९८, माओवादीले एक लाख ६७ हजार ६२६, जसपाले ५५ हजार २७६ र नेकपा एकीकृत समाजवादीले ५० हजार ८४९ मत पाएका छन्।
यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पनि २६ हजार २८ मत पाएर प्रदेश १ मा थ्रेसहोल्ड कटाएको छ।
अहिलेसम्मको समानुपातिक मतपरिणामको ट्रेन्ड जारी रहेमा प्रदेशको समानुपातिकतर्फका ३७ सिटमध्ये एमालेले १४, कांग्रेसले १२, माओवादीले ४, राप्रपाले ४, जसपाले १, एकीकृत समाजवादीले १ र संघीय लिम्बूवानले १ सिट पाउने छन्। जसमा सत्ता गठबन्धनको सिट संख्या १८ हुनेछ भने एमाले गठबन्धनको १९ हुनेछ।
अहिलेको गठबन्धन कायम रहेमा सत्तारूढ गठबन्धनको ४७ सिट र एमाले गठबन्धनको ४६ सिट हुने सम्भावना देखिएको छ। ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ।
प्रदेश १ मा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी तथा एमाले, राप्रपा र जसपाले छुट्टाछुट्टै गठबन्धन बनाएर चुनावमा होमिएका थिए।
सत्तारूढ गठबन्धनबाट कांग्रेसका २६, माओवादी केन्द्रका १९ र एकीकृत समाजवादीका ११ उम्मेदवार थिए भने नेकपा एमालेले झापाका २ प्रदेश सभा राप्रपालाई तथा सुनसरीको १ र मोरङको १ प्रदेश सभा जसपालाई छाडेर ५२ उम्मेदवार उठाएको थियो।
एमालेको समर्थन पाएका राप्रपाका दुवै उम्मेदवार भक्तिप्रसाद सिटौला र सविना बजगाईं विजयी भएका छन् भने एमालेको समर्थन पाएका जसपाका उम्मेदवारमध्ये मोरङमा जयराम यादव पराजित भए। सुनसरीका पर्शुराम बस्नेत पनि पराजय उन्मुख छन्।

सम्बन्धित समाचार