झापामा समानुपातिक तर्फ एमाले पहिलो, पिछडा वर्ग निषाद दलित जनजाति पार्टीको २८ मत
बिर्तामोड । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मत गणना झापामा सम्पन्न भएको छ । समानुपातिकमा प्रतिनिधिसभातर्फ नेकपा एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ । एमालेको १ लाख २७ हजार ७८० मत रहेको छ भने सबैभन्दा कम मत पिछडा वर्ग निषाद दलित जनजाति पार्टीको रहेको छ । उसको जम्मा २८ मत मात्र रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
झापामा ४७ दलले समानुपातिक तर्फको मत प्राप्त गरेका छन् । दोस्रोमा नेपाली कांग्रेसको एक लाख ६८६ मत, राष्ट्रिय स्वतन्त्र पार्टीले ७७ हजार ४४४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४६ हजार ४६६ र नेकपा माओवादी केन्द्रले ३१ हजार ६६६ मत प्राप्त गरेका छन् । पन्ध्र वटा दलले एक सय भन्दा कम प्राप्त गरेका छन् । नेपाली कांग्रेस (बिपी)ले झापाबाट ४२२ मत प्राप्त गरेको छ ।
सबैभन्दा बढी एमालेले क्षेत्र नम्बर ५ बाट, नेपाली कांग्रेस र राप्रपाले क्षेत्र नम्बर ३ बाट, रास्वपाले क्षेत्र नम्बर २ बाट र माओवादी केन्द्रले क्षेत्र नम्बर ५ बाट प्राप्त गरेको छ ।
तराइ मधेश लोकतान्त्रिक पार्टी र नेशनलिष्ट पिपल्स पार्टीले सबैभन्दा कम १ मत क्षेत्र नम्बर १ बाट प्राप्त गरेका छन् । त्यस्तै पिछडा वर्ग निषाद दलित जनजाति पार्टी क्षेत्र नम्बर ४ बाट १ मत प्राप्त गरेको छ ।