झापामा एमाले पहिलो दल, राप्रपा र कांग्रेस बराबर
एमाले र माओवादीले गुमाउँदा कांग्रेस र राप्रपालाई फाइदा
बिर्तामोड । मंसिर ४ गतेसम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन परिणामबाट नेकपा एमाले पहिलो दल बनेको छ । झापामा एमालेले ६० प्रतिशत हिस्सा ओगटेको हो ।
एमालेले झापाको पाँच संघीय निर्वाचन क्षेत्रमध्ये तीन स्थानमा विजय हासिल गरेको छ । निर्वाचन क्षेत्र नम्बर २,४ र ५ एमालेले जितेको हो ।
प्रदेससभा अन्तर्गत झापाको दस मध्ये छ स्थान एमालेले जितेको छ । क्षेत्र नम्बर २ को दुई वटा, तीनको एउटा, चारको एउटा र पाँचको दुई वटा क्षेत्रमा एमाले विजयी बनेको हो । २०७४ को निर्वाचनभन्दा यो निर्वाचनमा एमालेले दुई सिट गुमाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले २० र नेपाली कांग्रेसले २० प्रतिशत हिस्सा ओगट्न सफल भएको छ ।
नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गत झापा १ र प्रदेससभा तर्फ झापा १ मा एउटा र झापा ३ मा एउटा सिट जित्न सफल भएको छ ।
२०७४ को निर्वाचनमा शून्य हैसियतमा रहेको कांग्रेसले यो पटक २० प्रतिशत हिस्सा बनाएको हो ।
अघिल्लो निर्वाचनमा ६.६६ प्रतिशत हिस्सा रहेको राप्रपाले यो पटक २० प्रतिशत हिस्सा बनाउन सफल भएको छ । राप्रपाले प्रतिनिधिसभा तर्फ झापा ३ र प्रदेससभा तर्फ झापा १ मा एउटा र झापा ४ मा एउटा सिट जितेको हो । यो निर्वाचनमा राप्रपाले प्रदेससभातर्फ दुई सिट बढाएको छ ।
यो निर्वाचनमा नेकपा माओवादी केन्द्र शुन्यमा झरेको छ । माओवादीले प्रतिनिधिसभातर्फको एक र प्रदेससभा तर्फको दुइवटै सिट गुमाएको छ ।