तेस्रो पटकमा ‘राँगा छिनाए’ शर्माले
बिर्तामोड । एउटा भनाई छ ‘तेस्रो पटकमा राँगापनि छिन्छ’ । झापा क्षेत्र नम्बर १ मा त्यस्तै भएको छ । लगातार दोस्रो पटक पराजय भोगेका विश्वप्रकाश शर्माले यस पटक सानदार जित हासिल गरेका छन् ।
नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेका छन् । शर्माले १४ हजार २७५ मतको अन्तरले नेकपा एमालेका अग्नीप्रसाद खरेललाई पराजित गरेका हुन् । शर्माले ३९ हजार ६२४ मत प्राप्त गर्दा खरेलले २५ हजार ३४९ मतमात्र प्राप्त गरे ।
झापा क्षेत्र नम्बर १ मा ८७ हजार ३९६ मत खसेको थियो । शर्माले कुल मतसंख्याको ४५.३३ प्रतिशत मत प्राप्त गरेका छन् ।
यस अघि शर्मा २०७० सालमा नेकपा एमालेका उम्मेदवार रविन कोइरालासँग ६८९ मतले पराजित भएका थिए भने २०७४ सालमा वाम गठबन्धनका उम्मेदवार सुरेन्द्र (राम) कार्कीसँग २ हजार ८६२ मतले पराजित भएका थिए ।