चुनाव प्रचार बिहीबार मध्यरातसम्म मात्रै
मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री हटाउनुपर्ने
काठमाण्डौ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार र राजनीतिक दलले बिहीबार मध्यरातसम्म मात्रै चुनाव प्रचार गर्न पाउने भएका छन् । निर्वाचन कसुर तथा सजाय ऐनमा मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना पूरा नभएसम्म कुनै उम्मेदवार र राजनीतिक दलको पक्ष वा विपक्षमा मत माग्न नपाउने व्यवस्था छ । दल तथा उम्मेदवारले चुनाव प्रचार कात्तिक १७ मा सुरु गरेका थिए ।
निर्वाचन आयोगले बिहीबार मध्यरातपछिको अवधिलाई विशेष समयका रूपमा व्याख्या गरेको छ । ‘विगतमा यसलाई मौन अवधि भनिन्थ्यो । कानुनमा मौन अवधि भनेको रहेनछ । शून्य समय पनि भन्यौं । तर, ४८ घण्टा भनेको स्थिर समय हो,’ निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने, ‘आइतबार बिहान ७ बजे मतदान सुरु हुने भएकाले बिहीबार राति १२ बजेबाट निर्वाचनको प्रचारप्रसार निषेध हुनेछ ।’ यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ संगठनले निर्वाचन प्रचारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभासम्मेलन, कार्यशाला, गोष्ठी गर्न पाउने छैनन् ।
निर्वाचन आचारसंहिताअनुसार बिहीबार मध्यरातदेखि सामाजिक सञ्जाल, अनलाइन, छापा कुनै पनि माध्यमबाट राजनीतिक दल र उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना प्रचारका सामग्री पोस्ट, सेयर गर्न पाइने छैन । मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री पनि हटाउनुपर्ने हुन्छ । ‘कुनै पनि तरिकाले मत माग्न र निर्वाचन प्रचार गर्न नहुने व्यवस्था आचारसंहितामै छ,’ निर्वाचन आयुक्त भण्डारीले भने ।
निर्वाचन सुरक्षाका लागि भन्दै निर्वाचन हुनु ७२ घण्टाअघि अर्थात् बुधबार राति १२ बजेदेखि मुलुकका सबै नाका बन्द गरिने भएको छ । बन्द नाका मतदान सकिएपछि मात्रै खुला गर्ने अभ्यास छ । मुलुकको सुरक्षा अवस्था र निर्वाचन सुरक्षा तयारीबारे सुरक्षा निकायले निर्वाचन आयोगका पदाधिकारीलाई जानकारी गराइसकेका छन् ।