विश्वप्रकाशलाई जथाभावी गाली नगर्न चन्द्र भण्डारीको चेतावनी
बिर्तामोड । चुनावको समयमा आफ्नो छोरो (भतिज) विश्वप्रकाश शर्मामाथि अनर्गल प्रचार गरिएकोप्रति आफुहरुको ध्यानाकर्षण भएको काका चन्द्र भण्डारीले जनाएका छन् । सञ्चारकर्मी तथा स्वतन्त्र वाम विश्लेषक भण्डारीले सामाजिक सञ्जालमार्फत विश्वप्रकाशसँग आफ्नो वैचारिक आस्था र विश्वास फरक रहेपनि चुनावको समयमा नानाथरिका अनर्गल प्रचारबाजी भएको भन्दै आपत्ति जनाएका हुन् ।

भण्डारीले विचार मिले गधालाई पनि गाई देख्ने र नमिले जे पनि बर्बराउनु आचारसंहिता भित्र पर्छ कि पर्दैन ? भनेर प्रश्न समेत गरेका छन् ।
शर्मालाई पादरी भनेर खुइल्याउन खोजिएको भन्दै भण्डारीले आपत्ति जनाएका छन् । उनले शर्माको शालिनता र भद्रतालाई कमजोरी नठान्न चेतावनी दिएका छन् । ‘विश्वप्रकाशको शैलीबाट सिक्ने बुझ्ने कि उनमाथी तथानाम गर्ने? प्रश्न अहम छ,’ उनले लेखेका छन,‘अग्नीजीलाई आग्रह छ यस्तो हर्कतले निर्वाचन स्वस्थ हुँदैन । भेद खोतल्दै जाँदा आन्द्राभुँडी देखिन्छ भन्ने कुरा सम्बन्धित सबैमा हेक्का रहोस ।’
अग्नी खरेललाई क्षेत्र नम्बर १ मा पाहुना उम्मेदवार भएको भन्ने आलोचनालाई इङ्गित गर्दै भण्डारीले लेखेका छन्–‘झापामा त्यसमाथी हालको क्षेत्र नम्बर १ मा बालयकालदेखि नै कम्युनिष्ट आन्दोलन र प्रजातान्त्रिक आन्दोलन उठाउन केके गरियो बुझ्न चाहनुहुन्छ भने अग्नी जीलाई हार्दिक आमन्त्रण छ ।’ कसैको निष्ठा, आदर्श, त्याग र बलिदानलाई होच्याउने दुष्प्रयास कसैले कसैलाई नगर्न भण्डारीले आग्रह गरेका छन् । आफु नेपाली कांग्रेस नभएको र हुनसमेत नसक्ने तर राजनीतिमा संस्कार र संस्कृतिको खडेरी पर्न थाल्दा असल मान्छे जुनसुकै दलमा आबद्ध छन्भने तिनलाई जोगाउनु, उत्साहित तुल्याउनु कर्तव्य हुने भण्डारीले उल्लेख गरेका छन् ।
विश्वप्रकाश समयले जन्माएको असल मान्छे र असल व्यक्तित्व भएको उनको भनाई छ । भण्डारीले स्वस्थ प्रतिष्पर्धाबाट विजयी उपविजयीलाई स्वीकार गर्ने ठूलो छाती भएको उल्लेख गरेका छन् ।
अस्वस्थ खेल खेल्नेतर्फ ध्यान गएको हो भने एकदिन मात्रपनि आफ्नो जन्म र कर्म क्षेत्रमा भोट माग्दै हिड्नुपर्ने अवस्था आए निकै महङ्गो हुने भण्डारीले चेतावनी दिएका छन् ।
झापा क्षेत्र नम्बर १ मा गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेकपा एमालेको तर्फबाट पूर्व महान्यायाधिवक्ता तथा मन्त्री अग्नी खरेल प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रुपमा चुनावी मैदानमा छन् ।