विपक्षी दलले जातीय सद्भाव विथोल्न खोजेको लिङ्देनको भनाई
चन्द्रगढी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्र लिङ्देनले विपक्षी दलले समुदायमा धार्मिक र जातीय सद्भाव खल्बल्याउन खोजेको बताएका छन् ।
शनिबार भद्रपुरमा पत्रकार सम्मेलन आयोजना गरी लिङ्देनले विपक्षी दलले राष्ट्रिय प्रजातन्त्र पार्टीको बारेमा समाजमा घृणा, विद्वेष र द्वन्तसमेत पैदा गर्न सक्ने खालका क्रियाकलापहरु विपक्षी दलहरुबाट भएको बताए । उनले त्यस्तो भ्रममा नपर्न आग्रहसमेत गरे ।
लिङ्देनले आफूलाई आमन्त्रण नै नगरिएको आदिवासी जनजातिहरुको कार्यक्रममा पहिचान विरोधी भएर अनुपस्थित भएको भन्ने विपक्षी दलको भनाई गलत भएको बताए । उक्त कार्यक्रममा आफूलाई आमन्त्रण नगरिएको र आफू पहिचान विरोधी नभएको उनले स्पष्ट पारे । अध्यक्ष लिङ्देनले आफु आरक्षण पाइराखेकाहरुको विरोधी नभएको तर आरक्षणमा नपरेका तर कमजोर आर्थिक अवस्था भएका अन्य जातका मानिसहरुलाई समेत आरक्षण दिइनुपर्ने धारणा रहेको बताए । कतिपय ठाउँमा यसको परिमार्जन र पुनरावलोकन आवश्यक भएको उनले बताए ।
झापाका पाँचवटै क्षेत्रका उम्मेदवारहरुसंग आदिवासीका अधिकारका बारेमा प्रतिवद्धता जनाउन लगाउने उद्धेश्यले महासंघको झापा शाखाले पाँच स्थानमा उम्मेदवारहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको थियो । त्यसक्रममा कात्तिक २० गते बिहान ८ बजे भद्रपुर ५ स्थित एभरेष्ट होटलमा झापा क्षेत्र नम्बर ३ का उम्मेदवारहरुसँग महासंघले कार्यक्रम राखेको थियो । कार्यक्रममा गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौलालगायतका उम्मेदवारहरु सहभागी भएका थिए । तर,एमालेको समर्थनमा उम्मेदवार बनेका राप्रपाका लिङ्देन उपस्थित थिएनन् । निमन्त्रणा गर्दासमेत लिङ्देन नआएको आयोजकले प्रचार गरेका थिए ।